+
Search

ताजा अपडेट +

पपुलर +

नेकपा फुटको नजिक : नयाँ एमालेमा वामदेव अध्यक्ष, ओली सर्वोच्च नेता !

4KNationalDaily
२०७७ श्रावण १९, सोमबार १२:५६ बजे

काठमाडौं– नेपालीमा एउटा उखान खुबै चल्तीमा छ ‘घर पोलेपछि खरानीको के दुःख’ । यतिबेला नेकपा भित्र यस्तै संकट छ । पार्टी भित्रको झगडाले नेताहरुको मन र मत बाझिँदै गएपछि घरमा कस्ले पहिले आगो लगाउने भन्नेसम्म अवस्था आईलागेको छ ।

नेताहरुले कुनै चमत्कारिक निर्णय लिन सकेनन् भने नेकपा फुटको नजिक छ । यो अवस्थामा नेकपा पार्टी फुटाउन कोही चाहँदैनन् तर जुटाउने हिम्मत पनि कसैसँग छैन । तर, विश्‍लेषकहरु भन्छन् – अब नेकपामा ओली-प्रचण्ड सँगै हुन गाह्रो छ ।

अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली पक्ष र प्रचण्ड–नेपाल पक्षबीच शुरु भएको पार्टी भित्रको पदीय झगडाले पार्टीकै अस्तित्व संकटमा पुगेको नेकपाकै नेताहरुले सार्वजनिक रुपमा बोल्न थालेका छन् ।

विवाद बढ्दै गएपछि पार्टी नेताबीचको भेटघाट बन्द मात्रै होईन सचिवालय बैठक बस्नै छाडेको छ । यद्यपि दुई अध्यक्ष ओली र प्रचण्डबीच संवाद शुरु भएपनि निष्‍कर्ष निस्किएको छैन ।

विवाद वारपार हुन्छ कि भनेर बोलाईएको स्थायी कमिटी बैठक पनि बस्दै स्थगित हुँदै गरेको छ भने यहीबीचमा केन्द्रीय समिति बैठक बोलाउन माग गर्दै १ सय ५२ केन्द्रीय सदस्यले निवेदन नै बुझाएका छन् । तर, त्यो निवेदन प्रचण्ड पक्षले बुझेपनि ओली पक्षले बुझ्‍नै मानेको छैन ।

बैठक र भेटघाट पनि व्यवस्थित गर्न नसकेको नेकपा झण्डै–झण्डै फुटको नजिक छ । तर, पार्टी फुट्दैन र फुट्न दिन्‍न भन्‍ने सबै नेताको प्रतिबद्धता पनि छ ।

पार्टी फुट्दैन अब जुटेर अघि बढ्छ भन्दै गर्दा अध्यक्ष एवं प्रधानमन्त्री ओलीले नेकपा एमाले नामको पार्टी निर्बाचन आयोगमा दर्ता गराएको अर्का अध्यक्ष प्रचण्डको आरोप छ ।

त्यसो त प्रचण्डले पनि माओवादी केन्द्रका अध्यक्ष गोपाल किराँतीसँग सम्पर्क गरेर माओवादी केन्द्र आवश्यक परेमा दिनुहोला भन्‍ने सन्देश पुर्‍याइसकेको चर्चा बाहिर आएको छ ।

यसैबीच पार्टीभित्रको विवादमा प्रचण्ड–नेपाल समूहलाई पेलेरै अगाडी बढ्छु भन्‍ने सोच अध्यक्ष ओलीको छ ।

तर, प्रचण्ड–नेपाल पक्षको बहुमतले आफुलाई हटाए वा नेकपाबाट हट्नै परे नयाँ दर्ता भएको नेकपा एमालेको सर्वोच्च नेता भएर बस्ने र वामदेवलाई एमाले पार्टीको अध्यक्ष बनाउने ओलीको भित्री योजना छ ।

यो अवस्था आईलागेमा पार्टी भित्रको पद समेत भागबण्डा गरिएको छ ।

वामदेव गौतम, विष्णु पौडेल, सुवास नेम्वाङ, ईश्वर पोख्रेल, प्रदीप ज्ञवाली, शंकर पोख्रेल, खगराज अधिकारी पदाधिकारी हुनेछन् । प्रचण्ड–नेपाल समुह छाडेर साथ दिएमा रामबहादुर थापा, टोपबहादुर रायमाझी, योगेश भट्टराई लगायतले पनि रोजेको पद पाउनेछन् ।

पछिल्लो समय ओलीतिर नजिकिएका वामदेवलाई पनि पार्टी अध्यक्ष हुने रहर नै छ । उनले २०५४ मा एमाले फुटाएर नेकपा मालेको अध्यक्ष भएपनि त्यो पार्टी अस्तित्वमा आउन नसकेपछि पुनः एमालेमै विलय गराएका थिए ।

वामदेव गौतम नेकपा एमालेको अध्यक्ष हुने र ओली सर्वोच्च नेता भएर बस्‍ने अनि सूर्य चिन्ह पनि पाएमा सो पार्टी देशकै एक नम्बर पार्टी हुने अड्कलबाजी समेत सुरु भएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily