काठमाडौं- कोरोना भाईरस (कोभिड-१९)को जोखिम बढेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकामा निजी तथा सार्वजनिक सवारीमा जोर बिजोर लागु गर्न प्रस्ताव गरेको छ । यद्यपी यसबारे निर्णय भने भईसकेको छैन ।
मन्त्रालयले पेस गरेको उक्त प्रस्ताव कोभिड–१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी)को निर्देशक समितिमा विचाराधीन छ । सीसीएमसीले निर्णय गरेर मन्त्रिपरिषद्मा प्रस्तावका रुपमा गएपछि मात्र यसले औपचारिकता पाउनेछ ।
मन्त्रालयको प्रस्ताव कोभिड–१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी)को निर्देशक समितिमा विचाराधीन छ । ‘पछिल्लो बैठकमा छलफल पनि भएको हो’ एक उच्च अधिकारीले भने, ‘तर यसबारे निर्णय भएको छैन । सीसीएमसीले निर्णय गरेर मन्त्रिपरिषद्मा प्रस्तावका रुपमा गएपछि मात्र यसले औपचारिकता पाउँछ ।’
सरकारले २६ असारबाट निजी सवारी साधानको जोरविजोर हटाएको थियो भने उपत्यकामा तीन जिल्ला र बाहिर जिल्लामा सार्वजनिक सवारी चलाउन दिएको थियो । साथै भदौ १ बाट लामो दुरीको सवारी पनि चलाउने तयारी छ ।
मन्त्रालयले उपत्यका प्रवेश गर्ने तीन नाका थानकोट, साँगा र फर्पिङमा साउन १० देखि १३ गतेसम्म १० हजार ८२७ नमुना संकलन गरेको थियो । त्यसमध्ये करिव ३७ सय नमुना परीक्षण गर्दा २५ जनामा संक्राण पुष्टि भएको थियो ।
अहिले पनि कोरोना संक्रमण फैलिएको क्षेत्रबाट मानिसहरु काठमाडौं आउने क्रम रोकिएको छैन ।
यसरी आउनेहरुलाई रोक्न नसके पनि १४ दिन अनिवार्य होम क्वारेन्टिन वा स्थानीय तहको क्वारेन्टिनमा बस्नुपर्ने व्यवस्था गरे मात्र उपत्यकालाई संक्रमणबाट जोगाउन सकिने मन्त्रालयका अधिकारी बताउँछन् ।
त्यसअनुसार मन्त्रालय १४ दिन होम वा स्थानीय क्वारेन्टिनको सहमतिपछि मात्र उपत्यका प्रवेश गर्न दिने प्रस्ताव पठाएको स्रोतले बताएको छ ।
प्रतिक्रिया