+
Search

ताजा अपडेट +

पपुलर +

देउवाले ओलीलाई भने- अनियमितता ढाकछोप होइन, दाेषीलाई कारबाही गरियोस्

4KNationalDaily
२०७७ श्रावण २०, मंगलवार १६:०२ बजे

काठमाडाैं– नेपाली कांग्रेसले स्वास्थ सामग्री खरिदमा भएको अनियमितता र भ्रष्टाचार ढाकछोप नगरी छानबिन र कार्वाही गर्न सरकारसँग माग गरेकाे छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार गरेकाे परामर्श बैठकमा कांग्रेसकाे तर्फबाट सभापति शेरबहादुर देउवाले राखेकाे ७ बुँदे सुझाव र मागमा यस्ताे माग गरिएकाे हाे।

बैठकमा सभापति देउवाले हालसम्मका कमजोरी र प्रगतिको गहिरो समीक्षा गर्न भनेका छन्।

यस्तै देउवाले काेराेना परीक्षणमा आरडिटी परीक्षण स्थायी रुपले अन्त्य गर्न, सम्पूर्ण रुपले पिसिआर परीक्षण गर्दै एक प्रदेशमा एक लाख नयाँ परीक्षण तत्काल प्रारम्भ गर्ने गरी आवश्यक बन्दोबस्त गर्न माग गरेकाे कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए।

सभापति देउवाले बैठकमा राेखेका ७ बुँदे सुझाव र माग:

१. हालसम्मका कमजोरी र प्रगतिको गहिरो समिक्षा गरियोस्। स्वास्थ सामग्री खरिदमा भएको अनियमितता र भ्रष्टाचार ढाकछोप होइन छानबिन र कार्वाही गरियोस्।

२. नेपाली कांग्रेसले विगतदेखि नै अघि सारेका माग तथा परिवर्तित स्थितिमा निम्न बिषय सम्बोधन गरेर युद्धस्तरमा कार्य गर्न बिशेष ध्यानाकर्षण गराउँदछु

आरडिटी परीक्षण स्थायी रुपले अन्त्य।
सम्पूर्ण रुपले पिसिआर परीक्षण गर्दै एक प्रदेशमा एकलाख नयाँ परीक्षण तत्काल प्रारम्भ गर्ने गरी आवश्यक बन्दोबस्त।

स्वास्थ सामग्रीको पर्याप्त प्रबन्ध। अत्यावश्यक पर्ने औषधि रेमडिसिभरको आयातमा तदारुकता। आइसोलेसन वार्ड विस्तार र भेन्टिलेटरको अत्यावश्यक प्रबन्ध।

मापदण्ड अनुरुप क्वारेन्टाइनहरुको यथाशीघ्र व्यवस्थापन।

विदेशमा अप्ठ्यारोमा परेका नेपालीको निःशुल्क उद्वार गरी क्वारेन्टाइन र परीक्षण पश्चात् घर पुर्‍याउने व्यवस्था।

नेपालीको उद्धार गर्नुपर्ने स्थितिमा बाहेक सिमानाको आवागमनमा सम्पूर्ण कडाइ र सिमा नाका सिल।

सुरक्षाका लागि मास्क लगाउने अनिवार्यतासँगै चेतनामूलक अभियानमा आम संचारका माध्यमको व्यापक प्रयोग।

३. परिस्थिति अनुरुपका रणनीति निर्माण गर्न विज्ञहरुसँग परामर्श गर्ने क्रमलाई नियमितता दिएर निर्मित रणनीतिको चुस्त कार्यान्वयनका लागि तदारुकता राखियोस्।

४. विभिन्न दल, संघसंस्था र आम संचार माध्यमका सुझाव नियमित रुपले ग्रहण गरेर कार्य गर्ने प्रवृत्ति आत्मसात गरियोस्।

५. उच्च जोखिम, मध्यम जोखिम र न्यून जोखिमको क्षेत्र पहिचान गरेर भिन्न क्षेत्र भिन्न रणनीति निर्माण र कार्यान्वयन गरियोस्।

६. विभिन्न जायज माग अघि सारेर आमरण अनशनमा बसेका युवाहरूको भावना तत्काल सम्बोधन गरेर उनीहरुको जीवन रक्षा गरियोस्।

७. बर्ग, क्षेत्र र परिस्थिति हेरि राहतका लागि कार्यक्रम तर्जुमा र कार्यान्वयन व्यवस्थित ढंगले गरियोस्।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily