काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका प्रचण्ड–माधवकुमार नेपाल पक्षका शीर्ष नेताहरुले पार्टीमा चलिरहेको बहस पदको झगडा नभएको प्रष्टिकरण दिएका छन् ।
पार्टीसम्वद्ध सञ्चारकर्मीसँग बुधबार भएको छलफलमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीमा विचार, नीति, विधि, पद्धतीका लागि संघर्ष भइरहेको बताए ।
अध्यक्ष प्रचण्डले आफूहरूले पार्टी एकता गर्दादेखि नै पदको त्याग गरेको दाबी गर्दै भने, ‘यहाँ पदको झिनाझम्टी हो कि भन्ने कुरा छ। नेतृत्व लिने भन्दा पनि पद त्यागको रुपमा एकता गरेका हौँ।’
पार्टीका हजारौँ नेता कार्यकर्ताको भविष्यसँग जोडिएको र देशको विषय भएकाले आफूहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई एक पद त्याग गर्न आग्रह गरिएको उनको भनाइ थियो।
उनले पार्टी एकताका क्रममा जिकज्याक भए पनि एकता गरेको उल्लेख गरेका थिए। उनले पार्टीमा पार्टीको अधीनमा व्यक्ति हुनेभन्दा पनि पार्टीको अधीनमा व्यक्ति हुनपर्ने धारणा राखेका थिए।
सोही कार्यक्रममा वरिष्ठ नेता झलनाथ खनालले पार्टीभित्र केपी ओलीको गुट र पार्टीबीचको अन्तरविरोध विस्फोटन हुन लागेको बताएका थिए।
‘केपी ओलीको नेतृत्वमा मदन भण्डारी फाउन्डेसन निर्माण भएको छ। त्यो फाउन्डेसनले राष्ट्रव्यापी रुपमा, जिल्लाजिल्लामा मात्रै होइन, तलतल पालिका र वार्डवार्डसम्ममा पनि त्यसले कमिटीहरु निर्माण गरेको छ। ती कमिटीहरुले विभिन्न ढंगले पार्टीका एकथरी, एक पक्षलाई अथवा हामीहरुलाई विभिन्न ढंगले खण्डन गर्ने र आलोचना गर्ने काम गरिरहेको छ। यो नै पार्टी हो, हामीले आवश्यक पर्दा यसैलाई पार्टी घोषणा गर्छौं भन्ने ढंगले प्रचारबाजी चलाइरहेको अवस्था छ। यसरी पार्टीमा व्यापक ढंगले गुटबन्दी छ। यसका विरुद्ध हामी जुध्दैछौं,’ खनालले भने।
प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी पूरै निष्क्रिय, अकर्मण्य, गतिहीन भएकाले विघटन र विसर्जनको दिशातिर जाने खतरा रहेको बताए।
प्रतिक्रिया