+
Search

ताजा अपडेट +

पपुलर +

त्रिभुवन विश्वविद्यालयका परीक्षा तत्काल नहुने, परीक्षाको जिम्मा डिन कार्यालयलाई

4KNationalDaily
२०७७ श्रावण २९, बिहीबार १८:३८ बजे

काठमाडौं- त्रिभुवन विश्वविद्यालयले तत्काल परीक्षा सञ्चालन नगर्ने भएको छ। कोभिड –१९ को संक्रमण बढ्न थालेपछि त्रिविले तत्काल परीक्षा नगर्ने भएको परीक्षा नियन्त्रण कार्यालय (पनिका)का परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए।

यसअघि बन्दाबन्दी खुलेसँगै पनिकाले आगामी भदौ १६ गतेदेखि सेमेस्टर र असोजको पहिलो हप्तादेखि वार्षिक परीक्षाको तयारी गरेको थियो।

‘हामीले स्थिति सहज भएपछि परीक्षाको तयारी गरेका थियौँ’, उनले भने, ‘तर अहिले फेरि संक्रमण बढिरहेको छ। त्यसैले परीक्षा गर्ने तयारी गरे पनि पुनः स्थगन गरेका छौँ।’ त्रिविले सामान्यावस्था भए मात्र परीक्षा चलाउने भएको छ।

परीक्षा नियन्त्रक जोशीले अब हुने परीक्षाको जिम्मा डिन कार्यालयलाई दिइएको जानकारी दिए। ‘कस्तो अवस्थामा परीक्षा गर्ने नगर्ने भन्ने जिम्मा डिन कार्यालयलाई दिएका छौँ’, उनले भने, ‘सामान्य अवस्था भए पनि डिन कार्यालय नै परीक्षाको तयारी गर्ने छ।’

भदौ १ गतेदेखि लामो दूरीका यातायात सञ्चालन भएपछि विद्यार्थी काठमाडौँ आउने र त्यसपछि परीक्षा सञ्चालन गर्ने तयारी गरिएको थियो।

कोरोना भाइरसको संक्रमण बढदै गएपछि गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भदौ १५ गतेसम्मका लागि लामो दूरीका यातायात चल्न नदिने निर्णय गरेको छ।

२८ परीक्षाफल प्रकाशित

पनिकाले बन्दाबन्दी यता २८ वार्षिक तथा सेमेस्टर परीक्षाको परीक्षाफल प्रकाशन गरेको छ। बन्दाबन्दी समयमा १६ र साउन ७ यता १२ वार्षिक तथा सेमेस्टर परीक्षाको परीक्षाफल प्रकाशन गरिएको परीक्षा नियन्त्रक जोशीले जानकारी दिए।

पनिकाले बन्दाबन्दीमा प्राध्यापकलाई कार्यालय बोलाई उत्तरपुस्तिका परीक्षण गरी वैशाख १८ गतेदेखि नतिजा प्रकाशन गर्न थालेको हो। उनका अनुसार अब बन्दाबन्दी अगाडि परीक्षा भएका आठ परीक्षाका परीक्षाफल मात्र प्रकाशन बाँकी छ। रासस

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily