काठमाडौ- नायिका पूजा शर्मा र सञ्चारकर्मी प्रकाश सुवेदीबीचको विवाद टुंगिएको छ। नेपाल चलचित्र कलाकार संघको रोहबरमा दुवै जनाबीचको विवाद टुंगिएको हो।
प्रकाशले टेलिभिजन कार्यक्रममार्फत् पूजामाथि अपशब्द प्रयोग गरेका थिए। उनीमाथि कारबाहीको माग गर्दै पूजाले कलाकार संघमा उजुरी दिएकी थिइन्। उनले उजुरी दिएपछि प्रकाशले माफी समेत मागेका थिए। तर, पूजाले लिखित रूपमा नै माफी माग्नुपर्ने बताउँदै आएकी थिइन्।
लिखित रूपमै सहमति गरेर दुवै पक्षबीचको विवाद अन्त्य भएको चलचित्र कलाकार संघका उपाध्यक्ष तथा प्रवक्ता मोहन निरौलाले बताए। “उहाँले माफी त पटक पटक माग्नु भएको थियो। त्यसलाई लिखित रूपमै समावेश गरौं न भनेर दुवै पक्षबीच सहमति गराइएको हो”, उपाध्यक्ष निरौलाले भने।
चलचित्र क्षेत्रका विभिन्न संघ संस्था र अन्नपूर्ण मिडिया ग्रुपका अध्यक्ष क्याप्टेन रामेश्वर थापाको उपस्थितिमा दुवै पक्षबीच हस्ताक्षर गरिएको उपाध्यक्ष निरौलाले बताए।
‘भविष्यमा एक–अर्काको पेशा, व्यक्तित्व समेतलाई सम्मान गर्दै आ–आफ्नो पेशागत मर्यादामा रही प्रचलित कानून र पेशागत आचार–संहितको परिपालनतर्फ सजग रही भविष्यमा आपसी सद्भाव बिग्रन नदिने प्रवृत्तिगत विषयमा समते दुवै पक्ष संवेदनशील र सचेत रहने’ भन्ने विषय सहमति पत्रमा उल्लेख गरिएको छ।
त्यस्तै, उक्त कार्यक्रमका सम्बन्धमा विगतमा भएका असहमति, उजुरी लगायतलाई अन्त्य गरी सो सम्बन्धमा सम्बन्धित निकाय, व्यक्तिलाई समेत आवश्यकताअनुसार जानकारी गराउने समेत भनिएको छ।
संघका अध्यक्ष रबिन्द्र खड्काले कलाकार र पत्रकार दुवै एक अर्काका लागि अत्यावश्यक भएको भन्दै यसरी विवाद हुनु राम्रो नहुने बताए।
प्रतिक्रिया