काठमाडौं- सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको विवाद समाधान कार्यदलले आज शनिबार बुझाएको प्रतिवेदन सचिवालयले परिमार्जन गरेपछि स्थायी समितिले पास गर्ने बताएका छन्।
‘दुवै अध्यक्षले प्रतिवेदन अध्ययन गरेपछि सचिवालयको बैठकमा पेस गर्ने र आवश्यक परिमार्जनसहित स्थायी समितिको बैठकबाट पारित गरिनेछ’, प्रचण्डले शनिबार साँझ आफ्नो वेभसाइटमा भनेका छन्।
नेकपाको विवाद समाधानका लागि गठित कार्यदलले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड समक्ष शनिबार प्रतिवेदन हस्तान्तरण गरेको थियो। ६ सदस्यीय कार्यदलले एक साता लगाएर तयार गरेको प्रतिवेदन शनिवार साँझ बालुवाटारमा अध्यक्षद्वयलाई हस्तान्तरण गरेको हो।
अध्यक्षद्वयले समयमै मेहनतका साथ प्रतिवेदन तयार गरेको भन्दै कार्यदललाई धन्यवाद दिएका छन्।
अध्यक्षद्वयले गत साउन ३० गते नेकपाका महासचिव विष्णु पौडेलको संयोजकत्वमा स्थायी समितिका नेताहरू भीम रावल, जनार्दन शर्मा, सुरेन्द्र पाण्डे, शंकर पोखरेल र पम्फा भुसाल सदस्य रहेको ६ सदस्यीय कार्यदल गठन गरेका थिए, जसलाई पछि सचिवालय बैठकले अनुमोदन गरेको थियो।
कार्यदलका एक सदस्यले दुई अध्यक्षबीच मुख्य विवादमा अनौपचारिक समझदारी बनेपछि कार्यदल गठन गरिएकाले प्रतिवेदनमा तिनै बुँदाहरू समेटिएको बताए। जसमा प्रधानमन्त्रीमा ओली पाँच वर्ष नै निरन्तर रहने तर उनले सरकार सञ्चालन गर्दा मुख्य मुख्य विषयमा पार्टीसँग सल्लाह लिनु पर्ने प्रतिवेदनमा उल्लेख छ।
‘प्रतिवेदनको अर्को महत्वपूर्ण बुँदा कार्यकारी अध्यक्षका रुपमा प्रचण्डले पार्टीको नेतृत्व गर्ने भन्ने छ’, ती सदस्यले भने, ‘त्यसमा अर्का अध्यक्ष ओलीसँग सल्लाह लिएर पार्टीका गतिविधि सञ्चालन गर्ने तर पहिलेभन्दा फराकिलो दायरामा काम गर्न सक्ने उल्लेख छ।’
कार्यदलले केन्द्रीय समितिको निर्णय अनुसार २०७७ चैतमा एकता महाधिवेशन गर्ने गरी तयारी थाल्नु पर्ने ठहर गरेको छ, जसबारे ओली र प्रचण्डबीच छलफल भएर एउटा समझदारी बनिसकेको छ।
प्रतिवेदनको अर्को महत्वपूर्ण बुँदा मन्त्रीपरिषद र मुख्यमन्त्रीहरूको फेरबदल रहेको ती सदस्यले बताए, जसमा माधव नेपालको समूहलाई समेत चित्त बुझ्ने गरी जिम्मेवारी बाँडफाँट गर्ने तयारी छ।
प्रतिक्रिया