काठमाडौं– सरकारका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सम्बन्धको दुरुपयोग नगरेको स्पष्टीकरण दिएका छन्।
पोखरेलका सम्धी डा उपेन्द्र कोइराला राष्ट्रिय वाणिज्य बैंकको सञ्चालकमा नियुक्त भएपछि उनको चौतर्फी विरोध भएको थियो। पोखरेलले आफ्ना सम्धीको नियुक्ति विधिसम्मत, पारदर्शितासहित र संस्थागत प्रक्रियाबाट भएको दाबी गरेका छन्।
‘मेरो परिवारका कुनै सदस्य वा मेरा कुनै नाता सम्बन्धमा रहेका व्यक्तिहरूद्वारा पद वा मसितको सम्बन्धको दुरूपयोग गरी विद्यमान कानूनी व्यवस्थालाई उल्लंघन गरेर लाभ लिएको वा पद प्राप्त गरेको भन्ने विषयमा कुनै सत्यता छैन।’ पोखरेलले विज्ञप्तिमा भनेका छन्।
नियुक्ति प्रक्रियामा आफ्नो चासो र हस्तक्षेप नभएको उनले दाबी गरेका छन्। आफूबाट हस्तक्षेप गरेको प्रमाणित भएमा सार्वजनिक रूपमा सजायको भागिदार हुन तयार रहेको प्रतिवद्धता व्यक्त गरेका छन्।
शाहीकालमा चरित्रहत्या गर्न ‘घरको पानी ट्यांकीमा पैसा राखेका’ कुप्रचार उल्लेख गरेका छन्। पोखरेलले हाल आफ्नाविरुद्धमा लाग्ने शाहीकालकै मतियारहरु भएको आरोप लगाएका छन्। उनले भने, ‘विगतको निरंकुश शाही शासनका तिनै दुष्ट मतियारहरू समेत नयाँ ढंगले मेरो विरूद्धमा स्वर उरालिरहेका छन्।’
प्रतिक्रिया