काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्रको विवाद अन्त्यका लागि मुख्यमन्त्रीहरु हेरफेर हुन नसक्ने बताएका छन्।
आगामी निर्वाचनपछि मात्रै नयाँ मुख्यमन्त्रीहरु आउने उनले स्पष्ट पारेका छन्। यसका साथै अर्थमन्त्रीमा डा युवराज खतिवडाले नै निरन्तरता पाउने संकेतसमेत उनले गरेका छन्।
प्राइम टाइम टेलिभिजनको ‘टक शो’ मा बोल्दै प्रधानमन्त्री ओलीले भने, ‘निर्वाचनपछि उनै आउन पनि सक्छन्, नआउन पनि सक्छन्। त्यो सैद्धान्तिक कुरा हो।’ मुख्यमन्त्रीको हेरफेरले देश अस्थिरतातर्फ जाने उनले बताए।
मन्त्रिपरिषद हेरफेरको अधिकार प्रधानमन्त्रीमा रहेको उल्लेख गर्दै उनले त्याे आवश्यकताअनुसार हुने बताए। पुनर्गठनका लागि समीक्षा गर्ने क्रममा रहेको पनि ओलीले बताए।
उनले भने, ‘यो प्रधानमन्त्रीले विचार गर्ने कुरा हो। आशिंक वा पूर्ण हेरफेर गरेर नयाँ टिम गठन गरेर गतिशीलताका साथ अघि जान सकिन्छ।’ कुनै पनि मन्त्रीहरु प्रति असन्तुष्टि नरहेको उनले उल्लेख गरे।
यसैगरी, अर्थमन्त्री डा युवराज खतिवडालाई दोहोर्याउने संकेत पनि उनले गरे। प्रधानमन्त्रीले भने, ‘२/४ दिन हेर्दै जाऔं न। अर्थमन्त्रीले राम्रो काम गर्नुभएको छ। राख्ने/हटाउने अहिले नै फोरकास्ट नगरौं।’
सहमतिकै आधारमा महाधिवेशनले पार्टीमा नयाँ अध्यक्ष चुन्ने उनले बताए।
पार्टी सचिवालय सदस्य वामदेव गौतमलाई राष्ट्रिय सभामा लैजाने कुनै निर्णय नहुने उनले बताए। गौतमलाई विशेष जिम्मेवारी दिने बारे राखिएकाे जिज्ञासामा उनले भने, ‘त्यस्तो कुनै जिम्मेवारीको सम्भावना हाल छैन।’
कोभिड-१९ नियन्त्रणमा सरकारकाे प्रभावकारिताको माग गर्दै सडक आन्दोलनमा उत्रेका ‘इनफ इज इनफ’का अभियन्ताकाे उनले आलाेचना गरेे। भने, ‘के अर्थ हो इनफ इनफ इजको ? अब हामीलाई पुग्यो जा कोरोना भनेको हो कि?’
अर्थतन्त्र ओरालो लागेका बेला पनि संक्रमितका लागि सबै खर्च व्यहोरेको नदेखेकोप्रति उनले असन्तुष्टि जनाए। हुनेखानेहरूले आफैं परीक्षण गर्नुपर्ने उल्लेख गर्दै उनले सरकार मुख्यतः नसक्नेहरुका पक्षमा हुने बताए।
प्रतिक्रिया