काठमाडौं- मुख्य संरचना सुरुङमार्गमा डिजाइनसहित पुनः गेट जडान गर्नुपर्ने भएपछि काठमाडौं उपत्यकावासीले आउँदो दसैंमा पनि मेलम्चीको पानी नपाउने निश्चित भएको छ।
बहुप्रतीक्षित तथा बहुचर्चित मेलम्चीको पानी काठमाडौं पुर्याउन अझै कम्तीमा पाँच महिना लाग्ने देखिएको खबर आजको नागरिक दैनिकमा सिन्धुपाल्चोकबाट ध्रुब दंगालले लेखेका छन्।
पटकपटक भाका सार्दै आएको सरकारले पछिल्लोपल्ट आउँदो दसैंसम्म उपत्यकावासीलाई मेलम्चीको पानी खुवाउने वाचा गरेको थियो।
डिजाइन र जडानमै त्रुटि भेटिएको हालको गेट झिकेर नयाँ स्वरूपमा राख्नुपर्ने भएकाले मेलम्ची आयोजना पछाडि धकेलिन लागेको आयोजनाका उपकार्यकारी निर्देशक कमलराज श्रेष्ठले बताए।
नयाँ डिजाइनअनुसार गेट मात्र राख्न तीन महिना लाग्छ,’ उनले भने, ‘दसैंसम्म मेलम्चीको पानी राजधानी पुर्याउन अब सम्भव रहेन।’
परीक्षणमा रहेको सुरुङमार्गको अम्बाथानस्थित अडिट टनेलको १७ नम्बर गेट असार ३० गते खुलेर दुर्घटना भएपछि त्यसको डिजाइन र जडानमै त्रुटि भएको फेला परेको थियो। गेट खुल्दा निरीक्षणमा रहेका चार कर्मचारीलाई सुरुङबाट बाहिरिएको पानीले बगाएको थियो।
प्रतिक्रिया