काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठक सुरु भएको छ। बिहान ११ बजेका लागि बोलाइएको बैठक बिहीबार बिहान मात्र दिउँसो ३ बजेका लागि सारिएको थियो।
अर्थमन्त्री युवराज खतिवडाको निरन्तरता तथा राष्ट्रिय सभामा मनोनयनलगायतका महत्वपूर्ण विषयमा शीर्ष नेतृत्वबीच थप छलफल आवश्यक भएको भन्दै आजका लागि बैठक बोलाइएको हो।
बुधबार साँझ पनि सचिवालय बैठकको एजेण्डामाथि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच बालुवाटारमा छलफल भएको थियो। बैठकमा राष्ट्रिय सभामा खाली रहेको पदमा मनोनयन गर्नेबारेमा सचिवालय बैठकमै छलफल गरेर निष्कर्षमा पुग्ने अध्यक्षद्वबीच सहमति भएको छ।
राष्ट्रपतिले मनोनित गर्ने राष्ट्रियसभा सदस्यका लागि अर्थमन्त्री डा. खतिवडा वा उपाध्यक्ष वामदेव गौतम को हुने भन्ने बारेमा दुई अध्यक्षबीच कुरा मिल्न बाँकी रहेकोले बैठक सारिएको हो।
नेकपाभित्रको विवाद समाधानका लागि साउन ३० गते गठित कार्यदलले भदौ ६ गते प्रतिवेदन बुझाएको थियो। अध्यक्षद्वयले प्रतिवेदनको अध्ययन गरिसकेको भए पनि सचिवालयमा छलफल हुन सकेको छैन।
अर्कोतिर, अर्थमन्त्री खतिवडाले संघीय संसदको सदस्य नभए पनि मन्त्री बन्न पाउने संवैधानिक सुविधा प्रयोग गरेको ६ महिना बित्नै लागेको छ।
उनलाई मन्त्रीमा निरन्तरता दिनको लागि राष्ट्रिय सभामा पनि निरन्तरता दिनुपर्ने बाध्यताका बीच सचिवालय बैठक बसिरहेको छ। खतिवडा गत फागुनसम्म राष्ट्रिय सभा सदस्य थिए। प्रधानमन्त्री ओली उनैलाई निरन्तरता दिने पक्षमा छन्।
त्यस्तै, गत फागुन १४ गतेको सचिवालय बैठकले वामदेव गौतमलाई राष्ट्रिय सभामा लैजाने निर्णय गरेको थियो। त्यसको कार्यान्वयन हुनुपर्ने उनी र उनी पक्षको माग छ।
प्रतिक्रिया