काठमाडौं- अर्थमन्त्री डा.युवराज खतिवडाले आफू विवादमा परेर अर्थमन्त्री बन्ने चाहना नभएको बताएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीसँग खतिवडाले विवादमा परेर अर्थमन्त्री बन्न र राष्ट्रियसभामा जान अनिच्छा व्यक्त गरेका छन् ।
नेकपा उपाध्यक्ष बामदेव गौतमसँगको भेटमा प्रधानमन्त्री ओलीले भने, ‘खतिवडाजीले म विवादमा पर्न चाहन्न भनिरहनु भएको छ । राष्ट्रिय सभामा जान मान्नु भएको छैन । उहाँले इच्छा नदेखाए पनि सर्वसम्मत तरिकाले निर्णय गरौँ । आवश्यकतालाई ध्यान दिएर काम गरौँ ।’
उपाध्यक्ष गौतमले पनि प्रधानमन्त्री ओलीलाई मिलेर जान प्रस्ताव गरे । गौतमले भने, ‘अब म राष्ट्रिय सभाबाट सांसद बनेर अर्थमन्त्री बन्छु । मिलेरै चलाउने हो । राम्रो नतिजा आउनेगरी काम गरौँ । मैले सहयोग गर्छु । सरकारलाई अब द्रुत गतिमा लैजानुपर्छ ।’
पदमा निरन्तरत रहन अनिच्छुक देखिएका अर्थमन्त्री खतिवडा पार्टी नेताहरुवीच विवादमा पर्ने गरी आफू अगाडि आउन नचाहेका हुन् । सचिवालयमा प्रधानमन्त्री ओली र उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलमात्र खतिवडाको पक्षमा छन्।
उपाध्यक्ष गौतम गएराति प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेका थिए । उनले लगत्तै फर्किएर खुमलटारमा पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसँग छलफल गरेका थिए ।
प्रतिक्रिया