काठमाडौं- १४औं महाधिवेशनको तयारीमा रहेको नेपाली कांग्रेसभित्र संस्थापन र इतर समूहको झगडाले उग्ररुप लिएको छ ।
महाधिवेशनको सम्मुखमा विभाग गठन, क्रियाशील सदस्यता वितरण र भातृसंस्थाको म्याद थपेर सभापति शेरबहादुर देउवाले पार्टी कब्जा गरेको आरोप इतर समूहको छ ।
देउवालाई गलाउन वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले पार्टीबाट सामूहिक राजीनामादेखि अनशनसम्मको तयारी गरेको छ । सभापति देउवालाई गलाउने अन्तिम ‘अस्त्र’को रुपमा अनशन बस्नेदेखि केन्द्रीय सदस्यबाट राजीनामा दिनेसम्मको तयारीमा पौडेल समूह जुटेको छ ।
समूहको शनिबार सम्पन्न ‘जुम मिटिङ’ विभाग गठन, क्रियाशील सदस्यता वितरण र भ्रातृसंस्थाको कार्यकाल थपलगायतका विषयमा भएका निर्णय फिर्ता गराउन निर्णायक कदम चाल्ने निष्कर्षमा पुगेको हो ।
पछिल्ला दुई दिनमा दुईओटा विभागमा १०० जनाको हाराहारीमा देउवाले आफूनिकट कार्यकताहरुलाई मनोनयन गरेपछि पौडेल समूहमा आक्रोशको सीमा नाधेसँगै देउवालाई घुँडा टेकाउन निर्णायक लडाइँको तयारीमा यो समूह पुगेको हो ।
यसअघि, पार्टी महामन्त्री शशांक कोइराला, वरिष्ठ नेता रामचन्द्र पौडेल र कोषाध्यक्ष सीतादेवी यादवले महाधिवेशनको कार्यतालिका सार्वजनिक भएपछि विभाग गठन गर्न नहुने भन्दै निर्वाचन समितिलाई लेखेको पत्र बेवारिसे भएको छ ।
निबार करिब तीन घण्टा चलेको भर्चुअल बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्यहरू रामशरण महत, अर्जुननरसिंह केसी, शेखर कोइराला, महेश आचार्य, गुरू घिमिरे, चन्द्र भण्डारी, प्रदीप पौडेल, नवीन्द्रराज जोशी, कमला पन्त, जीवन परियार, बद्री पाण्डे, गगन थापा, धनराज गुरूङलगायत सहभागी थिए।
प्रतिक्रिया