काठमाडौं- डिफेन्डिङ च्याम्पियन पोर्चुगलले नेसन्स लिग फुटबलमा क्रोसियालाई पराजित गरेको छ। आइतबार विहान भएको खेलमा पोर्चुगलले क्रोसियालाई ४–१ गोलअन्तरले पराजित गरेको हो।
नियमित कप्तान क्रिष्टियानो रोनाल्डोविनै मैदानमा उत्रिएको घरेलु टिम पोर्चुगलले पहिलो हाफमा एक गोल गर्दा दोस्रो हाफमा थप तीन गोल गरेको थियो।
पोर्चुगलको जितमा जोआओ क्यानसेलो, डिओगो जोटा, जोआओ फेलिक्स र एन्ड्रे सिल्भाले गोल गरे। क्रोसियाका लागि ब्रुनो पिटकोभिचले गोल गरे।
खेलको ४१औं मिनेटमा जोआओ क्यानसेलोले गोल गर्दै पोर्चुगललाई अग्रता दिलाए। ५८औं मिनेटमा डिओगो र ७०औं मिनेटमा फेलिक्सले गोल गर्दा पोर्चुगलले ३-० गोलको अग्रता लियो।
इन्जुरी समयमा पिटकोभिचले गोल गर्दै ३–१ को स्थितिमा ल्याएपनि अन्तिम समयमा सिल्भाले गोल गर्दै पोर्चुगललाई ४–१ गोलको जित दिलाए।
लिग–ए कै समूह थ्रीको अर्को खेलमा फ्रान्सले स्वीडेनलाई १–० गोलअन्तरले पराजित गरेको छ। फ्रान्सको जितमा केलियन एम्बाप्पेले खेलको ४१औं मिनेटमा गोल गरे।
प्रतिक्रिया