काठमाडौं- पूर्वप्रधानमन्त्रीसमेत रहेका जनता समाजवादी पार्टीका नेता डा बाबुराम भट्टराईले कोरोनाबाट विपन्न र बेरोजगारलाई तत्कालै राहत उपलध्ब गराउन माग गरेका छन्। आइतबार फेसबुकमा एक स्टाटस राख्दै डा भट्टराईले यस्तो माग गरेका हुन्।
‘सरकारले बेरोजगार र विपन्न जनतालाई तुरून्तै स्थानीय तह मार्फत नगद/जिन्सी राहतको व्यवस्था गर्नुपर्यो नत्र सुरक्षाका न्यूनतम मापदण्ड कायम गर्दै आआफ्ना व्यवसाय सन्चालन गर्न दिनुपर्यो,’ उनको स्टाटसमा लेखिएको छ।
रोगले बचे पनि भोकले मर्नुपर्ने स्थिति आउनु डरलाग्दो भएको उनको भनाइ छ। गरिबीको रेखामुनि रहेका नागरिकको दैनिक गुजाराको वैकल्पिक व्यवस्था नगरी अनन्तकालसम्म लकडाउन र कर्फ्यू कति उपयुक्त हो भन्दै प्रश्न समेत गरेका छन्।
‘पचासौं लाख अनौपचारिक क्षेत्रमा काम गर्ने र स्वरोजगार श्रमिक तथा गरीबीको रेखा मुनी रहेका परिवारको दैनिक गुजाराको वैकल्पिक व्यवस्था नगरी सरकारले अनन्तकालसम्म लकडाउन/कर्फ्यू लगाउँदै जानु कति उपयुक्त हो? कोरोनाबाट बचे पनि भोकले मर्ने स्थिति आउनु कति डरलाग्दो कुरा हो,’ उनले लेखेका छन्।
सरकारले बेरोजगार र विपन्न जनतालाई तुरून्तै स्थानीय तहमार्फत नगद/जिन्सी राहतको व्यवस्था गर्नसमेत उनले माग गरेका छन्। यदि त्यसो गर्न नसके सुरक्षाका मापदण्ड कायम गर्दै आआफ्ना व्यवसाय सन्चालन गर्न दिनसमेत माग गरेका छन्।
आम जनताको जीवनमरणको गम्भीर अवस्था नबुझ्नेहरूको घैंटोमा घाम लगाउन उनले राज्यकोषबाट तलब खाने राष्ट्रपति/प्रधानमन्त्री/ मन्त्री/ न्यायाधीश/सांसद/कर्मचारी/शिक्षकलगायत सबैको तलबभत्ता रोक्ने विकल्परहेको समेत स्मरण गराएका छन्।
https://www.facebook.com/DrBaburamBhattarai/posts/2035391566598343
प्रतिक्रिया