काठमाडौं– नेकपा सचिवालयको पेरिसडाडामा हुने पहिलो बैठकमा मन्त्रिमण्डल पुनर्गठनदेखि संवैधानिक नियुक्तिसम्मका विषयमा छलफल हुने भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै आएको सचिवालय बैठक कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा पहिलोपटक पार्टी कार्यालय पेरिसडाडामा बस्न लागेको हो। बैठक शुक्रबार विहान ११ बजे बस्दैछ।
विवाद समाधान कार्यदलले दिएको सुझावका आधारमा स्थायी कमिटीले संघ र प्रदेशको मन्त्रिमण्डल पुनर्गठन गर्ने निर्णय गरिसकेको छ।
स्थायी कमिटीको निर्णयबमोजिम एजेण्डाकै रुपमा मन्त्रिमण्डल पुनर्गठनबारे सचिवालय बैठकमा छलफल हुने एक सचिवालय सदस्यले बताए।
सरकारका काम कारबाहीलाई थप प्रभावकारी बनाउन मन्त्रिमण्डल पुनर्गठन गर्ने विषयमा सचिवालय बैठकले प्रधानमन्त्रीलाई सुझाव दिने भएको हो।
‘मन्त्रीमण्डल पुनर्गठन प्रधानमन्त्रीको क्षेत्राधिकार भए पनि सचिवालय बैठकले आफ्नोतर्फबाट सुझाव दिन्छ’ एक सदस्यले भने, ‘सचिवालय बैठकको सुझावलाई मनन गर्दै प्रधानमन्त्रीज्यूले मन्त्रीमण्डल पुनर्गठन गर्नुहुने छ।’
सरकारमा कुन–कुन मन्त्री रहने वा नरहने भन्ने विषयमा चर्चा सुरु हुन थालेको छ । यस्तै सरकारमा जाने सम्भावित मन्त्रीको विषयमा समेत पार्टीमा छलफल हुन थालेको छ। कोरोना महामारीमा सरकारले खेल्नु पर्ने भूमिका विषयमा समेत बैठकमा छलफल हुने भएको छ।
प्रतिक्रिया