काठमाडौं- नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्ट आन्दोलनका अघिल्ला पुस्ताका नेताहरुलाई चाहिनेभन्दा बढ्दा श्रापेर केही नजन्मिने बताएका छन्।
नेतृ साहना प्रधानको छैटौं स्मृतिको अवसरमा आयोजित भर्चुअल अन्तर्क्रिया कार्यक्रममा बोल्दै प्रचण्डले आलोचनात्मक दृष्टिकोण राखेर अघि बढ्न युवाहरुलाई आग्रह गरे।
‘युवा कमरेडहरु आत्तिनु भयो भने पनि केही निक्लँदैन। सबै सकियो नेताहरुले केही गरेनन्, सिद्धिसके भनेर अघिल्लो पुस्ताका नेताहरुलाई चाहिनेभन्दा धेरै श्रापेर केही जन्मिनेवाला छैन,’ प्रचण्डले जोड दिँदै भने, ‘नेताहरुले जेजे भन्छन्, नेताहरुले भनेपछि ब्रह्मवाक्य भन्ठानेर पनि लिनु हुँदैन। हरेक विषयलाई क्रिटिक्कली हेर्नुपर्छ।’
कम्युनिस्ट आन्दोलनमा सहना प्रधानले सर्वोच्च स्थान हासिल गरेर सम्मानित जीवन बाँचेको प्रचण्डले स्मरण गरे। अबको कम्युनिस्ट आन्दोलन हाक्ने युवाहरु भएपनि चाहिने भन्दा धेरै आत्तिएर केही परिणम निकाल्न नसकिने प्रचण्डले जिकिर गरे।
आलोचनात्मक चेत बोकेर जीवनलाई तालमेल मिलाएर हिँड्ने व्यक्ति नै सफल हुने प्रचण्डले बताए।
कम्युनिस्ट पार्टीमा विचारले नेतृत्व गर्ने गर्ने बताउँदै प्रचण्डले ‘प्राग्मा’ र ‘डग्मा’ विचारले कम्युनिस्ट पार्टीलाई कहीँ कतै नपुर्याउने दाबी गरे। ‘प्राग्मा’ र ‘डग्मा’ विचारले लकिरको फकिर जस्तै बौद्ध भिक्षुले एउटै ठाउँमा घण्टी बजाउने बाहेक केही नहुने प्रचण्डको भनाइ थियो।
समाजवादी आन्दोलनको खाका कोरेर मात्रै अबको नेकपा गतिशील र जिवन्त हुन हुने प्रचण्डको भनाई छ। ‘म आशावादी छु। हामी सबै एक भएर जान सकिन्छ। विचारलाई एक ठाउँमा केन्द्रीत गर्न सकिन्छ,’ प्रचण्डले भने, ‘हामीले समाजवादी विचारको मौलिक धारा निर्माण गरेर विश्वलाई नै सन्देश दिन सक्छौं।’
प्रतिक्रिया