काठमाडौं- प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद् पुनर्गठन चाँडै गर्ने संकेत गरेका छन्।
पार्टी सचिवालय बैठक र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको लगातार छलफलपछि प्रधानमन्त्री ओलीले पछिल्लो मन्त्रिपरिषद् बैठकमै पुनर्गठनको समयसीमाबारे सन्देश दिएका छन्।
शुक्रबार साँझ बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री ओलीले मन्त्रिमण्डलका केही सदस्यको बिदाइ हुन थालेको संकेत गर्दै त्यसका लागि मानसिक रूपमा ‘तयार रहन’ सन्देश दिएका छन्।
बैठकमा ओलीले पार्टीमा छलफल चलिरहेकाले आफ्नो टिममा रहेका सदस्यमध्ये कतिपयलाई बिदाइ गर्नुपर्ने र कतिपयचाहिँ साथमै रहनुपर्ने स्थिति आउन सक्ने भन्दै मन्त्रिपरिषद् पुनर्गठनमा विलम्ब नगर्ने प्रस्ट सन्देश दिएको एक मन्त्रीले बताए।
सामान्यतया मन्त्रिपरिषद् बैठकबारे पहिल्यै मन्त्रीहरूलाई एजेन्डाबारे जानकारी गराउने गरिए पनि पछिल्लो बैठकको एजेन्डाबारे भने अवगत गराइएको थिएन । शुक्रबार साँझ ५ बजेबाट साढे तीन घन्टा मन्त्रिपरिषद् बैठक बसेको खबर आजको नयाँ पत्रिका दैनिकमा शुरोजंग पाण्डेले लेखेका छन।
‘पार्टीभित्रको पछिल्लो छलफल र कुराकानीबारे तपाईंहरू पनि जानकार नै हुनुहुन्छ । अब केही–केही साथी बस्नुपर्ने वा टिममै रहनुपर्ने, कतिपय साथी छुट्टिनुपर्ने पनि हुन सक्ने भएकाले कतिपयलाई क्याबिनेटको यो भेटघाट र बैठक अन्तिम पनि हुन सक्छ।
त्यसलाई तपाईंहरूले अन्यथा हिसाबले होइन, सहजीकरणका रूपमा लिनुहुनेछ भन्ने लागेको छ । यसको अर्थ तपाईंहरूले काम गर्नुभएन या असफल हुनुभयो भन्ने होइन र यसरी बुझ्नुभएन। तपाईंहरू असफल हुनुभयो भन्ने हिसाबले त्यसो गर्न लागिएको होइन भन्ने बुझ्नु नै हुनेछ भन्ने लागेको छ,’ बैठकमा प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै एक मन्त्रीले भने।
प्रतिक्रिया