काठमाडाैं- यूएईमा जारी इण्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत दिल्ली क्यापिटल्सविरुद्ध चेन्नई सुपर किंग्स (सीएसके) ४४ रनले पराजित भएको छ ।
दिल्लीले दिएको १ सय ७६ रनको लक्ष्यका साथ जवाफी ब्याटिङमा आएको सीएसकेले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ३१ रन मात्र बनाउन सक्याे ।
उसका लागि फाफ डुप्लिेसीले ४३, केदार जाधवले २६, शेन वाट्सनले १४, मुरली विजयीले १०, कप्तान महेन्द्रसिंह धोनीले १५ र रवीन्द्र जडेजाले १२ रन बनाए ।
बलिङमा दिल्ली क्यापिटल्सका कागिसो रबाडाले ३, एनरिक नोर्कियाले २ र अक्षर पटेलले एक विकेट लिए । यसअघि टस हारेर ब्याटिङको मौका पाएको दिल्लीले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १ सय ७५ न बनायो ।
उसका लागि ओपनर पृथ्वी शाले ६४, शिखर धवनले ३५, कप्तान श्रेयस अय्यरले २६, ऋषभ पन्तले नटआउट ३७ र मार्कस स्टोइनिसले अविजित ५ रन बनाए ।
बलिङमा सीएसकेका पियूष चावलाले २ र साम कुरानले एक विकेट लिए । जारी सिजनमा दिल्लीको यो लगातार दोस्रो जित हो । उसले पहिलो म्याचमा ‘सुभर ओभर’मा किंग्स इलावेन पञ्जाबलाई हराएको थियो ।
सीएसकेले भने ३ म्याच खेल्दा एक खेलमा मात्र जित हासिल गरेको छ । उसले पहिलो म्याचमा मुम्बई इण्डियन्सविरुद्ध जित हासिल गर्दा राजस्थान रोयल्स र दिल्ली क्यापिटल्सविरुद्ध हारको सामना गरेको छ ।
आजको जितसँगै दिल्ली ४ अंकका साथ तालिकाको शीर्ष स्थानमा पनि उक्लिएको छ ।
सीएसकेविरुद्ध पनि सन्दीपले पाएनन् मौका
सीएसकेविरुद्ध पनि नेपाली लेगस्पिनर सन्दीप लामिछानेले प्लेइङ-११ मा मौका पाउन असफल भएका छन् ।
दिल्ली क्यापिटल्सबाट तेस्रो पटक आइपीएल खेलिरहेका सन्दीपले जारी सिजनमा लगातार दोस्रो पटक प्लेइङ-११ मा मौका नपाएका हुन् ।
दिल्लीले आज टिममा २ खेलाडी परिवर्तन गरेको थियाे । उसले रविचन्द्रन आश्विनको स्थानमा अमित मिश्रा र मोहित शर्माको स्थानमा आवेश खानलाई मौका दिएको हाे ।
प्रतिक्रिया