काठमाडौं- रोयल च्यालेन्जर्स बैंगलोरले युएईमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा दोस्रो जीत हात पारेको छ ।
दुबईमा गएराति भएको खेलमा बैंगलोरले साविक विजेता मुम्बई इन्डियन्सलाई सुपर ओभरमा पराजित गरेको हो ।
दुबई अन्तराष्ट्रिय क्रिकेट रंगशालामा बैंगलोरले दिएको २ सय २ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ५ विकेट गुमाएर २ सय १ रन बनाएपछि खेल सुपर ओभरमा गएको थियो ।
सुपर ओभरमा मुम्बईले १ विकेट गुमाएर ७ रन बनाएको थियो । बैंगलोरले बिना विकेटको क्षति ११ रन बनाउँदै खेल आफ्नो पक्षमा पा¥यो ।
सुपर ओभर अघि मुम्बईका लागि इशान किशनले ९९ रनको योगफल बनाएका थिए भने काइरन पोलार्डले अविजित ६० रन बनाए । कप्तान रोहित शर्मा ८ रनमा आउट भए भने हार्दिक पाण्ड्या र क्विनटन डी ककले समान १४ रन जोडे ।
बैंगलोरका इशुरु उडानाले २ विकेट तथा एडम जाम्पा, वासिंगटन सुन्दर र युजभेन्द्र चाहलले १÷१ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ३ विकेट गुमाएर २ सय १ रन बनाएको थियो ।
बैंगलोरका लागि एबी डी भिलियर्स, देवदत्त पाडिक्कल र आरोन फिन्चले अर्धशतकीय इनिङ्स खेले । डी भिलियर्सले अविजित ५५ रन जोडेका थिए भने पाडिक्कलले ५४ तथा आरोन फिन्चले ५२ रन बनाए ।
शिबम दुबे २७ रनमा अविजित रहे । कप्तान विराट कोहली भने ३ रनमा आउट भए । मुम्बईका ट्रेन्ट बोल्टले २ तथा राहुल चाहरले १ विकेट लिए ।
जितसँगै बैंगलोरले ३ खेलमा ४ अंक जोड्दै तेस्रो स्थानमा उक्लिएको छ । बैंगलोरले पहिलो खेलमा सनराईजर्स हैदराबादलाई १० रनले हराएको थियो भने दोस्रो खेलमा पन्जाबसँग ९७ रनले पराजित भएको थियो ।
मुम्बईको भने यो दोस्रो हार हो । पहिलो खेलमा मुम्बई चेन्नई सुपर किङ्ससँग ५ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा कोलकत्ता नाइट राईडर्सलाई ४९ रनले हराएको थियो । एजेन्सी
प्रतिक्रिया