+
Search

ताजा अपडेट +

पपुलर +

डा केसीको जीवनरक्षा गर्न समाजवादी विद्यार्थी युनियनको माग

4KNationalDaily
२०७७ आश्विन १३, मंगलवार १८:०९ बजे

काठमाडौं- समाजवादी विद्यार्थी युनियनले सत्याग्रही डा. गोविन्द केसीको जीवनरक्षाको लागि सरकारसँग जोडदार माग गरेको छ ।

संगठनका अध्यक्ष रुपनारायण श्रेष्ठले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै स्वास्थ्य अवस्था कमजोर बन्दै गएका केसीको जीवनरक्षाको माग गरेका हुन् ।

‘कुशासन र भ्रष्टाचारलाई जरैदेखि उखेलेर सरकारलाई जनउत्तरदायी बनाउँदै शिक्षा र स्वास्थ्य क्षेत्रमा आमुल परिवर्तन गर्नका लागि पटकपटक सत्याग्रहमार्फत् सरकारलाई दबाव दिँदै आउनुभएका आदर्श व्यक्तित्व डा गोविन्द केसीले पटकपटक आमरण अनशन बस्दै आउनुभएको विदितै छ,’ श्रेष्ठद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘सरकारले उहाँको जायज मागहरुलाई सम्बोधन गर्ने प्रतिवद्धतासहित सहमति गर्ने तर कार्यान्वयनमा भने चरम उदासिनता देखाउँदै आएको पनि घामजत्तिकै छर्लङ्ग छ ।’

हाल डा. गोविन्द केसीले उठाउनु भएको दुर्गम भेगका जनतालाई शिक्षा र स्वास्थमा सहज पहुँच हुनुपर्छ भन्ने उनको माग सही र जनहितमा रहेको स्पष्ट पार्दै समाजवादी विद्यार्थी युनियनले उनको मागप्रति पूर्ण एक्यबद्धता जनाएको छ ।

‘डा गोविन्द केसी चिकित्सा शिक्षा क्षेत्रको एक असल, सादगी जीवनशैलीसहित जनसमुदायको सेवामा समर्पित व्यक्तित्व हो । उहाँले हरेक दलको सरकारसँग निरपेक्ष ढंगले निरन्तर संघर्ष गरिरहनु भएको छ। उहाँमा दलगत स्वार्थ कहिँकतै देखिँदैन,’ विज्ञप्तिमा भनिएको छ, ‘हाल डा केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको चिकित्सकहरुले बताउनुभएको छ। उहाँको मागहरु तत्काल सम्बोधन गर्दै जीवनरक्षा गर्न समाजवादी विद्यार्थी युनियन सरकारसँग जोडदार माग गर्दछ ।’

डा गोविन्द केसीको जीवनमा लाखौं जनसमुदायको आशा र भरोसा अडिएको बताउँदै अध्यक्ष श्रेष्ठले भनेका छन्, ‘सरकारले डा गोविन्द केसीको जीवनमाथि राजनीतिक अभिष्ट राख्दै खेलवाड नगरोस् । समय धेरै छैन । यदि एक सत्याग्रहीले सरकारको बेइमानीका कारण अनसनकै क्रममा जीवन गुमाउनु पर्‍यो भने त्यसपछिको परिस्थिति भयानक हुनेछ। उक्त परिस्थितिको जिम्मेवार पनि सरकार नै हुने चेतावनी दिन चाहन्छौं ।’

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily