काठमाडौं– दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा पहिलो हार ब्यहोरेको छ। मंगलबार राति भएको खेलमा सनराइजर्स हैदराबादसँग दिल्ली १५ रनले पराजित भएको हो।
अबुधावीमा भएको खेलमा हैदराबादले भने पहिलो जित निकालेको हो। १६३ रनको मध्यम चुनौती पछ्याउँदै ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा १४७ रन मात्रै बनाएपछि हैदराबादको जित सम्भव भएको हो।
दिल्लीका लागि शिखर धवनले ३४, रिषभ पन्तले २८, सिमरन हिटम्यरले २१, कप्तान श्रेयस ऐयरले १७ र कागिसो रबडाले अविजित १५ रन बनाए। दिल्लीलाई सस्तैमा समेट्न हैदराबादका बलर राशिद खानले तीन विकेट लिए।
चार ओभरमा मात्र १४ रन खर्चिदै तीन विकेट लिएका थिए। त्यस्तै, भुवनेश्वर कुमारले दुई विकेट लिए।
यसअघि टस हारेसँगै ब्याटिङको निम्तो पाएको हैदराबादले निर्धारित २० ओभरमा चार विकेटको क्षतिमा १६२ रन बनाएको थियो। राम्रो सुरुवात गरेको हैदरबादका लागि कप्तान डेविड वार्नर र जोनी बैरस्टवले पहिलो विकेटका लागि ७७ रनको साझेदारी गरेका थिए।
जोनीले ५३ र वार्नरले ४५ रन बनाए। त्यस्तै, जारी आइपिएलमा पहिलो पटक टिममा परेको केन विलियम्सनले २६ बलमा ४१ रनको योगदान दिए। बलिङतर्फ भने अमित मिश्रा र कागिसो रबडाले समान २–२ विकेट लिए।
दिल्लीको यो तेस्रो खेलमा पहिलो हार हो। आफ्नो पहिलो खेलमा दिल्लीले किंग्स इलाभेन पञ्जाबलाई सुपर ओभरमा पराजित गरेको थियो। त्यस्तै, दोस्रो खेलमा चेन्नाई सुपर किंग्सविरुद्ध ४४ रनको जित निकालेको थियो। यता, लगातार दुई खेलमा हार ब्यहोरेको हैदराबादको भने पहिलो जित हो।
यसअघि रोयल च्यालेन्जर्स बैंग्लोरसँग १० र कोलकत्ता नाइट राइडर्ससँग सात विकेटले हैदराबाद पराजित भएको थियो।
प्रतिक्रिया