+
Search

ताजा अपडेट +

पपुलर +

गोर्खा ब्रुअरीको गुणस्तरहीन बियर : कर नतिर्दा ४ लाख कार्टुन गोदाममै थन्कियो

4KNationalDaily
२०७७ कार्तिक ३, सोमबार ०९:३८ बजे

काठमाडौं– सरकारले तोकेअनुसारको अन्तःशुल्क नतिर्दा गोर्खा ब्रुअरीका बियर गौदाममै थन्किएका छन्।

ब्रुअरीका बियरमा चामलको मात्रा बढी फेला परेसँगै बजारमा जान पाएको छैन। आन्तरिक राजस्व विभागले बियरमा जौको मात्रा कम भेटिएपछि उच्च अल्कोहलयुक्त रक्सीसरह अन्तःशुल्क लगाएको थियो।

विभागले प्रतिलिटर ४ सय ३० रुपैयाँ अन्तःशुल्क निर्धारण गरेको छ। तर कम्पनीले भने प्रतिलिटर १ सय ६५ रुपैयाँमात्रै तिर्ने दाबी गर्दै आएको छ। विवादकै कारण कम्पनीले विभागले तोकेअनुसार अन्तःशुल्क तिरेको छैन। जसका कारण बियर बजारमा जान सकेको छैन।

विभागले गोदाममा सिल गरेको नभई ब्रुअरीले नै अन्तःशुल्क स्टिकर खरिद नगरेका कारण गोदाममै रोकिएको जनाएको छ।

आन्तरिक राजस्व विभागले गोर्खा ब्रुअरीबाट उत्पादन हुने बियरमा जौको मात्रा ५० प्रतिशतभन्दा कम रहेको भन्दै १७ प्रतिशतभन्दा धेरै अल्कोहल हुने रक्सीसरह नै कर लगाउने निर्णय गरेको थियो।

राजस्व विभागले भन्सार विभागलाई ५० प्रतिशतभन्दा कम जौ प्रयोग गरी उत्पादन भएका बियरको वर्गीकरण गर्न पत्र पठाएको थियो।

भन्सार विभागले एकीकृत दरबन्दी वर्गीकरणको भाग २२ मा उल्लेखित व्यवस्थाअनुसार गोर्खा ब्रुअरीको बियरलाई अन्यमा वर्गीकरण गरिदिएको हो। जुन न्यून गुणस्तरीय मानिन्छ।

विभागले देशभरका कार्यालयबाट बियर उद्योगले आफ्ना उत्पादनमा प्रयोग गर्ने वस्तुहरू (इन्ग्रिडेन्ट्स) को मात्रा संकलन गर्न लगाएको थियो। संकलित इन्ग्रिडेन्टस् प्रयोगशाला परीक्षणका लागि भन्सार पठाइएको थियो।

भन्सार विभागले गोर्खा ब्रुअरीको उत्पादनलाई अन्य वर्गमा वर्गीकरण गर्दै त्यसको जानकारी आन्तरिक राजस्व विभागलाई गराएको थियो।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily