काठमाडौं- नेपाल कम्युनिस्ट पार्टीका प्रवक्तासमेत रहेका सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले व्यक्तिवाद व्यक्तिवाद, अहंकार, आवेग र आक्रोश कुनै पनि विषयको समाधान ननिकाल्ने बताएका छन्।
नेकपामा देखिएको पछिल्लो विवादका विषयमा आइतबार साँझ फेसबुकमा स्टाटस लेख्दै नेता श्रेष्ठले यस्तो उल्लेख गरेका हुन्।
‘व्यक्तिवाद, अहंकार, आवेग र आक्रोशले समाधान दिँदैन र कसैको हित गर्दैन। देश, जनता, श्रमजीवीवर्ग र पार्टी तथा आन्दोलन लाई केन्द्रमा राखेर सोचौं। र सकारात्मक निष्कर्ष निकालौं,’ स्टाटसमा लेखिएको छ।
उनको यो स्टाटस नेकपा अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीप्रति लक्षित देखिन्छ। उनले नेकपा फुट्दा देशी र विदेशी प्रतिक्रियावादी शक्तिहरुको चाहाना पूरा हुने भएकाले पार्टीमा फुट निम्तिने काम नगर्न र समयमा सोच्नसमेत उनले नेतृत्वलाई आग्रह गरेका छन्।
‘जान वा अन्जानमा देशी र बिदेशी प्रतिकृयावादी शक्ति हरुको चाहाना पुरा गर्ने कार्य कसैबाट हुन नजाओस् ,सबैले समयमै सोचौँ,’ फेसबुकमा श्रेष्ठले लेखेका छन्।
पार्टीमा फुट कदापि उचित र सही हुन नसक्ने उनको भनाइ छ। ‘हाम्रो पार्टी एकता महान क्रान्तिकारी उदेश्यलाई केन्द्रमा राखेर र धेरै ठुलो मेहनत पसिना लगाएर हाँसिल गरिएको हो। यसको बिफलता र पार्टी फुट कदापि उचित र सही हुन सक्दैन। फुट र फुटजन्य कृयाकलाप राष्ट्र एवं कम्युनिस्ट आन्दोलनको आवश्यकता, आम कार्यकर्ता तथा शुभेच्च्छुकहरुको चाहाना र जनादेश विरुध्द हुन्छ,’ उनको स्टाटसमा उल्लेख छ।
पार्टी एकताको पक्षमा दृढतापूर्वक उभिन र आ-आफ्नो ठाँउबाट एकताको रक्षाका निम्ति सक्रिय पहल गर्न समेत उनले आग्रह गरेका छन्।
‘पार्टीको बैठक बसौं र सबै पक्षहरुका बारेमा खुला छलफल गरौं। पार्टीभित्र देखिएको छलफल, बहस र मतभेद अन्ततः विचार, सिध्दान्त, राजनीतिक कार्यदिशा र क्रान्तिकारी पार्टी निर्माण एवं सञ्चालन सम्बन्धी अबधारणासँग सम्बन्धित रहेको हुन सक्ने भएपनि अहिले नै त्यसबारेमा औपचारिक छलफल नभएकाले स्पष्ट मतभेद देखापरिसकेको छैन। तसर्थ यतिबेला पार्टी एकताको रक्षाको निम्ति सबै बाट एउटै कुरामा इमान्दार प्रतिबध्दता भए पुग्छ, पार्टीको बिधि, पध्दति एवं निर्णयको पालना र कार्यान्वयन,’ स्टाटसमा लेखिएको छ।
प्रतिक्रिया