काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्न बालुवाटार पुगेका नेकपाका अध्यक्ष पुष्पकमल दाहाल साढे दुई घण्टापछि बाहिरिएका छन्।
पाँचदिनपछि बिहीबार बालुवाटार पुगेका प्रचण्ड र ओलीबीच झण्डै साढे २ घण्टा छलफल भएपनि कुनै सहमति हुन सकेन।
पहिला दुई अध्यक्षबीच सहमति नगरी पार्टी सचिवालयको बैठक राखेर मात्र नहुने प्रधानमन्त्री ओलीको अडानको कारण दुई अध्यक्षबीचको वार्ता कुनै निष्कर्षमा नपुगी सकिएको हो।
नेकपा सचिवालयका एक नेताका अनुसार छलफलको सुरुमै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीले राजनीनामा नदिने भनेर हिजो सार्वजनिक रुपमा दिएको अभिव्यक्तिबारे सोधेका थिए।
‘तपाईंको राजीनामा कसले मागेको छ, यो कता संकेत गर्नुभएको हो?’ प्रचण्डले ओलीलाई सोधेको भनाइ उधृत गर्दै ती नेताले भने, ‘आफैं जुम बैठक राख्दै जबज ब्युँताउने कुरा गर्दै हुनुहुन्छ फेरि आफैं राजीनामाको कुरा पनि उठाउनुहुन्छ।’
ओलीसँग प्रचण्डले छिटो भन्दा छिटो सचिवालय बैठक राखेर छलफल गर्न आग्रह गरे। ‘अब बैठक राखौं, विवादित विषयहरूबारे त्यहीँ छलफल गरौं, कोभिडको विषयमा पनि एउटा निर्णय गरौं,’ प्रचण्डले ओलीलाई भने।
प्रधानमन्त्री ओलीले दुई अध्यक्षको सहमति विना कुनै पनि बैठक बसेर नहुने जवाफ दिए।
‘बैठक राखेर के गर्नु, त्यहाँ अल्पमत र बहुमतको कुरा उठ्छ, निर्णय गर्न भन्दा पनि नेतृत्वको विषयमा प्रहार हुन्छ, अनि त्यहाँ छलफल गरेर कुनै निकास पनि निस्कँदैन’, ओलीको जवाफ थियो, ‘गर्ने भए तपाईं र म सहमति गरौं अनि कमिटीमा गएर छलफल गरौंला।’
राजदूत नियुक्ति र रिक्त तीन मन्त्रालयमा मन्त्री नियुक्तिमा एकलौटी गरेको, कर्णाली प्रदेशको विवाद चर्काउन भूमिका खेलेको, भारतीय गुप्तचर निकाय रअ प्रमुखलाई बोलाएर बालुवाटारमा छलफल गरेको, कोरोनाको रोकथाममा सरकार गम्भीर नबनेको लगायतका विषयमा ओलीप्रति प्रचण्डले असन्तुष्टी राखेका थिए।
प्रतिक्रिया