काठमाडौं- जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ नलेख्ने सरकारको निर्णयको प्रतिवाद गर्न आह्वान गरेका छन् । यस्तो निर्णय गर्नुमा उनले केही गडबडीको आशंका समेत गरेका छन् ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका डा. भट्टराईले आज सामाजिक सन्जाल ट्वीटरमा लेखेका छन्, ‘यो स्वीकार्य छैन । दालमा कालो छ है ! सबैले प्रतिवाद गरौं ।’
संयुक्त राष्ट्र संघमा देश/राज्यका नाम उनीहरूको संविधान/राज्यप्रणाली अनुरूप हुने आम प्रचलन भएको भन्दै उनले सोही अनुसार नेपालको नाम ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ राखिएको उल्लेख गरेका छन् ।
गत ११ असोजमा बसेको मन्त्रिपरिषद बैठकले ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ नलेख्ने निर्णय गरेको कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयद्वारा मातहत निकायमा जारी परिपत्रबाट खुलासा भएको थियो ।
कानून मन्त्रालयबाट गत असोज २८ मा जारी परिपत्रअनुसार ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ को स्थानमा ‘नेपाल’ मात्र लेख्नुपर्ने भएको छ ।
संयुक्त राष्ट्र संघमा देश/राज्यका नाम उनीहरूको संविधान/राज्यप्रणाली अनुरूप हुने आम प्रचलन हो।सोही अनुसार नेपालको नाम “Federal Democratic Republic of Nepal” रहेकोमा ओली सरकार किन पछि हटेको हो? यो स्वीकार्य छैन! दालमा कालो छ है! सबैले प्रतिवाद गरौं! खबरदार!!https://t.co/gcyvOLSOQr
— Baburam Bhattarai (@brb1954) November 6, 2020
त्यसैगरी, अंग्रेजीमा ‘फेडेरल डेमोक्रेटिक रिपब्लिक अफ नेपाल’ लेख्ने गरेकोमा ‘एनइपीएएल’ मात्र लेख्ने क्याबिनेटबाट निर्णय भएको कानून मन्त्रालयको परिपत्रमा उल्लेख छ ।
प्रतिक्रिया