काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधव कुमार नेपालले कोही एक व्यक्तिले चाहेर पार्टी नफुट्ने दाबी गरेका छन्।
शुक्रबार धुम्बाराहीमा आयोजित पार्टी सचिवालयको अनौपचारिक बैठकपछि पत्रकारहरुलाई प्रतिक्रिया दिँदै उनले नेकपा कमजोर जगमा उभिएको पार्टी नभएको प्रष्ट पारे।
‘यो कमजोर जगमा उभिएको पार्टी होइन। कमजोर जगमा सुरु भएको पार्टी पनि होइन। बहुत बलियो जगमा, अनेकौं उतार चढावबाट गुज्रिँदै अगाडि बढेको पार्टी हो। कुनै एउटा व्यक्तिले चाहेर, थोरै व्यक्तिले चाहेर यो पार्टी फुट्न सक्दैन’, उनको भनाइ छ।
उनले नेकपा सबैले अत्यन्तै ठूलो त्याग, तपस्या र बलिदानबाट बनेको पार्टी भएको बताए। ‘पार्टी फोड्ने भनेर सोच्ने कुरा अपराध हो’, उनले भने, ‘आजसम्म पार्टीभित्रका जति पनि समस्याहरु छन्, त्यो हामी बैठकमा बसेरै, छलफल गरेरै समाधान गर्दै आएका छौं। त्योभन्दा बाहिरबाट कहिल्यै पनि हामीले समाधान निकालेका छैनौं। सबै समस्याको समाधान पार्टी कमिटीको बैठकमा निकालिनुपर्छ। छलफल गर्नुपर्छ।’
उनले छलफल, बहस, विवादहरुबाट नै आफूहरु कम्युनिस्ट आन्दोलनलाई कसरी एकताबद्ध बनाएर लिएर जाने, पार्टीलाई कसरी सही विचार, सही नीति, सही पद्धतिको आधारमा अगाडि बढाएर लिएर जाने भन्ने कुरामा एकताबद्ध भएर जाने बताए।
प्रतिक्रिया