काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीमा व्यक्तिवादी चरित्र हावी हुँदै गएको भन्दै प्रश्न उठाएका छन्। शनिबार साँझ ट्विट गर्दै प्रधानमन्त्रीको व्यवहार र कार्यशैलीप्रति उनले असन्तुष्टि पोखेका हुन्।
‘शब्दकोशमा ‘म’ एउटा सबैभन्दा सानो शब्द हो। तपाईंको शब्दकोशमा यसलाई सबैभन्दा ठूलो शब्द नबनाउनुहोस्। के हाम्रो कम्युनिस्ट आन्दोलन यही रोगबाट ग्रसित त छैन?,’ अंग्रेजी भाषामा गरिएको ट्विटमा उल्लेख छ।
ट्विटमा खास व्यक्ति वा सन्दर्भलाई उल्लेख गरिएको छैन। तर, शुक्रबार र शनिबार नेकपाले व्यहोरेको फरक घटनाक्रमसँग श्रेष्ठको ट्विट लक्षित रहेको आँकलन गर्न सकिन्छ।
पार्टीको सचिवालय कमिटीको बैठकका लागि अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली तयार नहुँदा ५ सचिवालय सदस्यहरू पुष्पकमल दाहाल ‘प्रचण्ड’, झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम र श्रेष्ठ शुक्रबार पार्टीको केन्द्रीय कार्यालयमा अनौपचारिक बैठक बसेका थिए।
उनीहरूले पार्टीमा विवाद बढेकाले सचिवालय कमिटी बैठक राखेर छलफल गर्नुपर्ने निष्कर्ष निकालेका थिए।
” I IS ONE OF THE SMALLEST WORDS IN THE DICTIONARY , DON’T MAKE IT THE BIGGEST WORD IN YOUR VOCABULARY.”
IS THIS THE DISEASE WE ARE SUFFERING FROM IN OUR COMMUNIST MOVEMENT?
— NKShresthaPrakash (@nksthaprakash) November 7, 2020
बैठक डाक्नका लागि सामूहिक रूपमा प्रधानमन्त्री तथा अध्यक्ष ओलीलाई सामूहिक रूपमा लिखित आग्रह गर्ने ५ सचिवालय सदस्यको अनौपचारिक बैठकको निर्णय थियो। सोही बैठकको निर्णयअनुसार शनिबार बिहान प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेका थिए।
शनिबार बिहान बालुवाटारमा ओली र ५ नेताबीच चर्काचर्की भएको थियो। नेताहरूले ओलीलाई व्यक्तिवादी चरित्र नदेखाउन, आफूलाई केन्द्र नठान्न र बैठक राखेर त्यसको निर्णय मान्न आग्रह गरेका थिए।
जवाफमा प्रधानमन्त्री ओलीले भने आवश्यकताअनुसार बैठक बस्ने तर तत्काल आफूले सचिवालय कमिटीको बैठक नराख्ने अडान दोहोर्याएका थिए। यीनै घटनाक्रम र ओलीको कार्यशैलीप्रति लक्षित गर्दै प्रवक्ता श्रेष्ठको सांकेतिक ट्विट आएको आँकलन गर्न सकिन्छ।
प्रतिक्रिया