काठमाडौं– नेकपा कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केहीगरी पार्टी फुट्यो भने पूर्वएमाले वा पूर्वमाओवादी भएर नफुट्ने बताएका छन्।
बुधबार बेलुका ५ बजे आफूलाई तिहारको शुभकामना दिन आएका विद्यार्थी, मजदूर र युवाका आधा दर्जन प्रतिनिधिहरुसमक्ष प्रचण्डले पार्टीको पछिल्लो अवस्था, विवादको गुह्य तथा आगामी दिनका बारेमा केहीबेर ब्रिफिङ गरेका थिए ।
‘धेरै अन्याय सहेर बसिँदैन। पार्टीमा अब ध्रुबीकरण हुन्छ। पार्टीको विधान, विधि पद्धति मान्ने र नमान्नेबीचको लडाइँ हो, अब। कुनै पद र प्रतिष्ठाको लडाइँ होइन। हामीले धैर्य गर्नेको पनि हद हुन्छ’, प्रचण्डले ब्रिफिङमा भनेका छन् ।
प्रचण्डले आफूहरुले अहिले बैठकको माग मात्रै गरेको र त्यसमा अर्का अध्यक्ष केपी शर्मा ओलीलाई सहभागी हुनमात्रै भनेको बताएका थिए।
‘बारम्बार आग्रह गरेका छौं। तर उहाँ मान्नुभएको छैन। उहाँ बैठकमा आउन मान्नुभएन र बैठकको निर्णयलाई पनि मान्नुभएन भने अब हामीले सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठक बोलाउँछौं। हामी निर्णय गरेर अघि बढ्छौं। अब पछाडि हट्ने होइन। अगाडि बढ्ने हो’, प्रचण्डको भनाइ थियो।
प्रचण्डले आफूहरुको बैठक राखेर अघि बढ्ने रणनीति सुनाएपछि उपस्थितहरुलाई त्यही अनुसारले सोच्न र तयार हुन आग्रह गरेका थिए।
उनले ओलीको सरकार सञ्चालन शैलीको पनि आलोचना गरेका थिए। सरकार समाजवाद र संविधानले निर्दिष्ट गरेको बाटोमा पनि नहिँडेको बताएका थिए। अहिलेको आफूहरुको प्रयास समाजवादको बाटोमा हिँड्ने र हिँडाउने रहेको उनको दाबी थियो।
‘अहिलेको लडाइँ पार्टीको विचार मान्ने वा नमान्ने, विधि प्रक्रिया मान्ने वा नमान्ने, सुशासनको चाहने वा भ्रष्टाचारको चाहनेको बीचको लडाइँ हो’, प्रचण्डले भनेका थिए।
प्रतिक्रिया