+
Search

ताजा अपडेट +

पपुलर +

मानहुँकोटको विकासका लागि गण्डकी प्रदेश सरकारको चासो

4KNationalDaily
२०७७ कार्तिक २७, बिहीबार १२:४७ बजे

दमौली- तनहुँको व्यास नगरपालिका–५ स्थित मानहुँकोटको विकासका लागि गण्डकी प्रदेश सरकारले चासो देखाएको छ । पर्यटकीय गन्तव्यको रूपमा विकास भइरहेको मानहुँकोटमा आवश्यक पूर्वाधार निर्माणका लागि प्रदेश सरकारले चासो देखाएको हो ।

गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले बुधबार मानहुँकोटको अवलोकन गर्दै यहाँको विकासका लागि प्रदेश सरकारको तर्फबाट सहयोग रहने प्रतिबद्धता जनाएका छन ।

‘मानहुँकोटको विकासका लागि एकीकृत ढङ्गबाट पूर्वाधार निर्माण गर्नुपर्ने आवश्यकता देखिएको छ’, मन्त्री गुरुङले भने, ‘यहाँ खानेपानी, सडक र सरसफाइको मुख्य समस्या देखिएको छ । गुरुयोजना बनाएर यसको समग्र विकास गर्न प्रदेश सरकार स्थानीय तहसँग समन्वय गरेर अगाडि बढ्न तयार छ ।’

यहाँको भौगोलिक अवस्थालाई नबिगार्ने गरी भौतिक संरचना निर्माण गर्नुपर्नेमा मन्त्री गुरुङले जोड दिएका छन । मानहुँकोटमा प्याराग्लाइडिङ, पिङलगायतको पनि सम्भावना रहेकाले त्यसमा लगानी गर्न निजी क्षेत्रलाई मन्त्री गुरुङले आग्रह गरेका छन ।

‘समग्र योजना बनाएर अगाडि बढ्न सकिने विषयमा अध्ययनका लागि म मानहुँकोट आइपुगेको हुँ, यहाँको मुख्य समस्या भनेको खानेपानीको देखियो, त्यसका लागि अध्ययन तत्कालै सुरु गरिनेछ’, उनले भने ।

प्रदेशसभा सदस्य आशा कोइरालाले मानहुँकोटलाई गण्डकी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा सूचीकृत गरिने बताइन् ।

‘व्यास नगरपालिकाको तर्फबाट पनि यहाँ विकास योजना अगाडि बढिरहेको छ, नगरपालिकासँग सहकार्य गरेर प्रदेश सरकारको तर्फबाट गर्न सक्ने सबै सहयोग गर्छौँ’, कोइरालाले भनिन् ।

व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले मानहुँको विकास र प्रवर्द्धनमा नगरपालिका अत्यन्त प्रतिबद्ध भएर लागेको बताएका छन ।

मानहुँकोटबाट प्याराग्लाइडिङ गर्न सकिने सम्भावना भए पनि यहाँ भएका टेलिकम र विद्युतका तारहरुका कारण समस्या आएकाले सम्बन्धित निकायसँग समन्वय गरेर यहाँको तार हटाउन पहल गरिने न्यौपानेले जानकारी दिएका छन ।

मानहुँकोटमा पूर्वाधार निर्माणका लागि संघीय र प्रदेश सरकारसँग साझेदारी गरिने नगरप्रमुख न्यौपानेले बताएका छन ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily