काठमाडाैं- स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले सरकारले कोभिड विरुद्धको भ्याक्सिन (खोप) प्रमाणित भएर बजारमा आउने वित्तिकै नेपाली नागरिकले पनि प्रयोग गर्न पाउने गरि तयारी गरिरहेको बताएका छन्।
विश्व प्रतिजैविक सचेतना सप्ताहका अवशरमा आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसंख्यामन्त्री ढकालले अन्य देशका सर्वसाधारणका लागि उपलब्ध हुनेबित्तिकै भ्याक्सिन नेपाल भित्र्याउन सम्पूर्ण तयारी भएको बताएका हुन्।
स्वास्थ्यमन्त्री ढकालले भ्याक्सिनको व्यवस्थापन र सहज उपलब्धताका लागि कानून संशोधन गरेर सरकार अगाडी बढेको बताए। अहिले परीक्षणका क्रममा रहेका भ्याक्सिनहरू प्रमाणित भएर बजारमा आउने वित्तिकै नेपाली नागरिकले पनि सहज रुपमा प्रयोग गर्न पाउने गरी आयात सहज बनाउन अध्यादेशमार्फत कानून संशोधन गरिएको उनले बताए।
‘औषधी व्यवस्थापन, उपलब्धताका लागि सहज होस भनेर कानूनी रुपमा अध्यादेशबाट औषधी आयात गर्न सहज बनाइएको छ। भ्याक्सिन सजिलै प्रयोगमा ल्याउन सकियोस भनेर कानूनी अफ्ठ्यारो नपरोस भनेर कानूनी बाटो खुला र सहज गरिएको हो। भ्याक्सिन अन्य देशले आफ्ना नागरिकमा प्रयोग गर्ने वित्तिकै नेपाली जनताले पनि प्रयोग गर्न सकियोस भनेर सरकारी र गैरसरकारी तर्फबाट पहल गरिनेछ’, मन्त्री ढकालले भने।
उनले कुनै एक प्रयोजनका लागि उत्पादन भएको औषधिहरू म्याद सकिएपछि पनि अर्को प्रयोजनका लागि प्रयोग गर्दा समस्या देखिने गरेको बताए। तरकारी, फलफुल लगायतमा प्रयोग हुने कीटनाशक औषधीका कारण पनि मानवजीवनमा विभिन्न समस्या देखिने गरेको उनको भनाइ थियो।
३ देखि ९ मंसिरसम्म चलेको सप्ताहका अवशरमा चित्रकला प्रतियोगिता पनि आयोजना गरिएको थियो। प्रतियोगितामा ललितकला क्याम्पसमा अध्ययनरत विनिता खड्का प्रथम, होप इन्टरनेशनल कलेजमा अध्ययनरत स्वस्तिमा सापकोटा द्वितिय र नेशनल स्कुल अफ साइन्समा अध्ययनरत राजकी अर्याल तृतिय भए। उनीहरूलाई नगदसहित सम्मान गरिएको छ।
प्रतिक्रिया