काठमाडौं- सत्तासीन दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझीले पार्टीभित्र अहिले देखिएको अन्तरविरोधकै कारण पार्टी नफुट्ने दाबी गरेका छन्।
मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा रायमाझीले भने,‘जहाँसम्म नेकपाको अन्तरविरोधको सन्दर्भ र विषयवस्तु छ, पार्टीभित्र सानो होस् या ठूलो अन्तरविरोध निरन्तर भैरहन्छन्। यसलाई स्वभाविक ठान्नुपर्छ। मलाई विश्वास छ–पार्टी कुनै हालतमा फुट्दैन्।’
उनले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको सचिवालयमा पेश गरेको १९ पृष्ठ लामो राजनीतिक प्रतिवेदन केन्द्रीय नेतादेखि तल्लो तह अर्थात् कार्यकर्तासम्म वितरण भइसकेकाले त्यसमा छलफल हुने बताए।
‘अध्यक्ष केपी शर्मा ओलीले पनि अब बस्ने सचिवालय बैठकमा पेश गर्ने गरी प्रतिवेदनको तयारी गर्दै हुनुहुन्छ। सम्पूर्ण विषयवस्तु र एजेण्डालाई केलाएर हेर्दा र अध्ययन गर्दा नेकपा सक्लो रहला कि फुट्ला, सरकार ढल्ला कि के होला भन्ने चर्चा अहिले चलिरहेको छ। म दाबाका साथ भन्छु–यही कारणले मात्रै पार्टी विभाजनमा जाँदैन,’ उनले भने,‘यतिवेला नेकपा विभाजन भयो भने नेकपामात्रै फुट्दैन। अहिलेसम्म हामीले संघर्षमार्फत प्राप्त गरेका परिवर्तनका एजेण्डा र उपलब्धि नै गुम्ने खतरा छ। यसको ठूलो असर त प्रमुख नेताहरुलाई नै पर्छ।’
उनले अहिले प्राप्त उपलब्धि गुम्दा यसको असर नेकपाका आम नेता÷कार्यकर्ता, शुभचिन्तकलाई मात्रै नभई जनतामा पनि प्रत्यक्ष प्रभाव पर्ने बताए।
रायमाझीले अहिले देखिएको पार्टीभिको विवाद र समस्या आफूहरुले कुनैपनि हालतमा समझदारीका साथ हल गर्ने विश्वास दिलाए।
‘हामी एकै ठाउँमा उभिएर निष्कर्ष निकाल्छौँ। पार्टीभित्रको शक्ति सन्तुलन, सबै विषयलाई केलाएर एकीकृत रुपमा छलफल गर्छौं। हामी निष्कर्षमा पुर्याउँछौँ। यो पार्टी फुट्छ भन्ने हल्ला छ, तर मलाई फुट्छ भन्नेमा विश्वास छैन्। यो वा त्यो रुपमा फुटको पक्षमा उभिने, अस्वस्थ प्रतिष्पर्धा गर्ने, दुश्मनीपूर्ण संघर्षमा लैजाने काम कसैबाट पनि हुनुहुन्न,’ रायमाझीले भने।
प्रतिक्रिया