काठमाडौं- के प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओलीले मंसिर १३ गतेको सचिवालय बैठकमा युवाको निम्ति पद त्याग गर्न तयार रहेको र अरु नेताबाट पनि त्यस्तै अपेक्षा गरेको बताएअनुसारकै दिशातिर जान्छ त जारी विवाद?
सत्तारुढ नेकपाको अन्तरसंघर्ष कसले पद सम्हाल्ने र को पदबाट हट्ने भन्नेमा मात्रै केन्द्रीत हो? आजको जनआस्था साप्ताहिक अगाडि लेख्छ–बृद्धभत्ता पाउने ६५ वर्ष उमेर कटेका सबै शीर्षस्थ नेताले स्वेच्छाले जिम्मेवारी त्याग गर्ने क्रम अब अध्यक्षबाट सुरु हुन्छ? मोदनाथ प्रश्रितले सन्यास लिएझैँ अब नीतिगत रुपमै युवाको निम्ति ठाउँ खाली गर्न तयार होलान्? प्रश्न अनेक छन्, उत्तर सहज छैन।
यद्यपी यो विषय सचिवालय बैठकमा प्रवेश भएको छ। प्रधानमन्त्रीले राखेको प्रस्ताव उनीबाटै कार्यान्वयन सुरु हुनु पर्ने माग सचिवालयमा उठिसकेको छ।
एकजना नेताले बताएअनुसार प्रधानमन्त्रीले आफ्नो जिम्मेबारी साँच्चिकै नयाँ पुस्तालाई दिन खोजेका हुन् भने राजीनामा दिएर बैठकमा प्रस्तुत भएमा सबैले एक मिनेटमै उक्त निर्णय कार्यान्वयन गर्ने खुमलटार पक्षको तयारी छ।
त्यसो गर्दा सचिवालय, स्थायी कमिटी वा केन्द्रीय कमिटीमा उनको आदर्श वचनलाई पछ्याउने कतिजना निस्कन्छन् त्यो स्वतः देखिने पनि उनले बताए।
प्रधानमन्त्रीको नयाँ पुस्तालाई सत्ता र नेतृत्व हस्तान्तरण गर्ने प्रस्ताव अर्को चुनाव र महाधिवेशनपछि स्थायी समिति सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल र पूर्व सभामुख सुवास नेम्बाङलाई अघि बढाउने हो भन्दै बालुवाटार वरपरका अरु निकटस्थ पनि पर्ख र हेरको रणनीतिमा छन्।
तर, खुमलटार भने प्रधानमन्त्रीले ती सबै कुरा सार्वजनिक खपतको लागि बोल्नुभएकोमा ढुक्क छन्। उनीहरु भन्छन्, ‘यसअघि प्रधानमन्त्रीको सचिवालयको बैठकमा उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्रीको प्रस्ताव गरेकै हुन्। अहिले गौतम कुन हालतमा छन्, सबैले देखेकै छन्।’
प्रतिक्रिया