काठमाडौं– युइएफए च्याम्पियन्स लिग फुटबल अन्तर्गत गएराति सम्पन्न खेलमा स्पेनिस क्लब रियल मड्रिडले हार व्यहोरेको छ । युक्रेनी क्लब शाख्तर डोनेट्स्कले रियललाई २-० ले हराएको हो ।
शाख्तरको जीतमा डेन्टिन्हो र मरोन सोलोमनले १-१ गोल गरेका थिए । दुवै गोल दोस्रो हाफमा भएका थिए ।
खेलको ५७औं मिनेटमा डेन्टिन्होले गोल गरेपछि शाख्तरले खेलमा अग्रता लिएको थियो । ८२औं मिनेटमा सोलोमनले शाख्तरको अग्रता दोब्बर पारे । यसपछि रियल पनि खेलमा फर्कन नसक्दा स्तब्ध हुन पुग्यो । इन्टरको जीतमा लुकाकुुको दुई गोल
सोही समूहको अर्को खेलमा इटालियन क्लब इन्टर मिलानले जर्मन क्लब बोरूसिया एम’ग्लाडबाकलाई उसैको मैदानमा ३-२ ले हराएको छ ।
प्रतिस्पर्धात्मक खेलको १७औं मिनेटमा माटिउ डार्मियनले गोल गर्दैै इन्टरलाई अग्रता दिलाएका थिए । त्यसैगरी पहिलो हाफको इन्जुरी समयमा एलासान प्लियले गोल गर्दैै खेल बराबरीमा ल्याए ।
दोस्रो हाफको ६४औं र ७३औं मिनेटमा रोमेलु लुकाकुले गोल गरेपछि इन्टर ३-१ ले अघि बढेको थियो । ७५औं मिनेटमा घरेलु टोलीका प्लियले गोल गरेपनि त्यसपछि थप गोल हुन नसक्दा इन्टरले पहिलो जीत निकाल्न सफल रह्यो ।
हारका बाबजुद एम’ग्लाडबाक ५ खेलबाट ८ अंकसहित शीर्षमा यथावत् छ । रियललाई हराएको शाख्तर ७ अंकसहित दोस्रोमा छ भने ७ अंक नै भएपनि गोलअन्तरका आधारमा रियल तेस्रोमा छ ।
पहिलो जीत निकालेको इन्टर ५ अंकसहित पुछारमा छ । इन्टरलाई अन्तिम खेलमा शाख्तरलाई जित्नैपर्ने दबाब रहेको छ ।
प्रतिक्रिया