काठमाडौं- पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली अनुपस्थित भएपछि नेकपा सचिवालयले तीन दिनको विश्राम लिएको छ।
स्थायी कमिटीमा जानुअघि निर्णायक बैठकमा ओलीलाई पनि सहभागी गराउने प्रयासस्वरूप धैर्य गरिएको प्रचण्ड–नेपाल समूहका नेताहरूको भनाइ छ।
सचिवालयको बुधबारको बैठकमा ओली पक्षका मानिने महासचिव विष्णु पौडेल र ईश्वर पोखरेल पनि सहभागी थिए । तर, प्रधानमन्त्रीनिवास बालुवाटारमै भएको बैठकमा ओली उपस्थित भएनन् । अब तीन दिनपछि बस्ने बैठकमा पनि उनी उपस्थित हुने–नहुने निश्चित छैन।
वरिष्ठ नेता झलनाथ खनालले ओलीसँगै सम्बन्धित विषयमा छलफल गर्नुपर्ने भएका कारण उनकै उपस्थितिमा छलफल गर्नका लागि २० मंसिरमा सचिवालय र २१ मंसिरमा स्थायी कमिटी बैठक गर्ने निर्णय भएको जानकारी दिए । उनले ओली सहभागी नभए पनि निर्णय गर्न सकिन्छ भन्ने सन्देश बुधबारको बैठकमार्फत दिइएको बताए।
ओलीले बैठकमा उपस्थित नहुने सन्देश दिएपछि के गर्ने भन्ने विषयमा प्रचण्ड–नेपाल समूहका नेताहरूले बुधबार बिहान खुमलटारमा अनौपचारिक छलफल गरेका थिए।
बैठकमा प्रस्तुत भइसकेको प्रस्ताव फिर्ता नहुने विषयमा उनीहरूबीच मतैक्य छ । बरु, ओली र प्रचण्डको प्रस्तावको किनारा बैठकबाटै गर्ने उनीहरूको योजना छ । पार्टी अध्यक्ष ओली आफूसँग असहमतहरूको सरोकार सम्बोधन गर्ने मनोविज्ञानमा छैनन्, आफ्नो प्रस्ताव पारित गराउने सुविधामा छैनन् । त्यसैले नेकपा विवाद झन्झन् पेचिलो भएको खबर आजको नयाँ पत्रिका दैनिकमा शुरोजंग पाण्डेले लेखेका छन् ।
प्रतिक्रिया