काठमाडाैं- निर्माणाधिन फिल्म ‘डिसेम्बर फल्स’ को हिरोइनमा उपासना सिंह ठकुरी अनुबन्धित भएकी छिन् । केही समयअघि एक कार्यक्रमका बीच निर्माण घोषणा गरिएको फिल्ममा आर्यन सिग्देल मुख्य भूमिकामा छन् ।
त्यतिबेला निर्माण पक्षले स्क्रिप्टको मागअनुसारको हिरोइनको खोजी जारी रहेको बताएको थियो । अन्ततः मंगलबार ‘डिसेम्बर फल्स’ मा उपासना भित्रिएकी हुन् ।
भुवन केसीको ‘क्याप्टेन’ फिल्मबाट डेब्यु गरेकी उपासनाले त्यसपछि रामबाबु गुरुङ निर्देशीत ‘कबड्डी कबड्डी कबड्डी’ मा अभिनय गरेकी थिइन् । अभिनीत दुवै फिल्मबाट उपासनाले तारिफ पाइन ।
उपासनालाई पछिल्लो समय आधा दर्जन बढी फिल्मको अफर गएको थियो । जसमध्ये उनलाई स्क्रिप्ट र टिम मन परेकाले ‘डिसेम्बर फल्स’ साइन गरेको बताइएको छ ।
रिजाल एण्ड रिजाल प्रोडक्सनको ब्यानरमा रामप्रसाद रिजालको प्रस्तुति रहेको फिल्मलाई भारतीय फिल्म उद्योगमा कार्यरत प्रवीण झाले निर्देशन गर्दैछन् ।
लक्ष्मण रिजाल कार्यकारी र राजकुमार भट्ट निर्माता रहेको फिल्ममा आर्यन र उपासनाका साथमा सुमन थापा,सलोन बस्नेत,नागेन्द्र रिजाल,चलचित्र बिकास बोर्डका अध्यक्ष दयाराम दाहाल,संचारकर्मी नरेश भट्टराईलगायतले अभिनय गर्ने पक्का भइसकेको छ भने केही कलाकारको छनौट कार्य अझै जारी छ ।
प्रतिक्रिया