+
Search

ताजा अपडेट +

पपुलर +

सचिवालयमा ओलीको अडान : दुबै पद छाड्दिनँ, जे मन लाग्छ गर्नू

4KNationalDaily
२०७७ मंसिर २१, आईतवार ०७:४७ बजे

काठमाडौं– प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले आफूले पद नछाड्ने दोहोर्‍याएका छन्।

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पार्टीको सचिवालय बैठकमा उनले आफूले पद छाडेर त्याग गर्छ कि भन्ने नसोच्न सदस्यहरुलाई आग्रह गरे।

‘मलाई केही भन्नु छैन, शायद तपाईहरुको तयारी पुग्यो होला, सबै कुरा मलाई थाहा छ, यसरी पार्टीमा बल प्रयोग नगरौं । आजको बैठकमा पनि बल प्रयोग भएको छ,’ प्रधानमन्त्री ओलीले शनिबारको बैठकमा भने, ‘त्यो लाञ्छना पत्रलाई छलफलमा लैजान सकिँदैन, भोलि स्थायी कमिटीको बैठक नगरौं, अलि दिन सचिवालयमै निकास निकालेर बैठक गरौं । स्थायी कमिटीको बैठक गर्न एजेण्डा पनि छैन, तयारी पनि छैन ।’

अध्यक्ष ओलीले बोलिसकेपछि माधव नेपालले प्रतिवाद गर्दै भने, ‘अहिले पनि उहाँमा म नै सुपि्रम हो भन्ने छ, गल्ती स्वीकार गर्नुपर्छ भन्ने नै छैन…।’

गाली गलौज मात्रै गर्नका लागि बोलाइएको स्थायी कमिटी बैठकको काम नभएको ओलीको भनाइ थियो। ‘कुनै तयारी छैन, प्रस्ताव छैन। के गर्ने भन्ने पनि तय गरिएको छैन। बैठक मात्रै राखेर के गर्नुहुन्छ? केका लागि बैठक चाहियो?’, उनको प्रश्न थियो।

तर, अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपाल पक्षधरको चाहना अनुसार आइतबारकै लागि बैठक बोलाइएको हो। बैठकमा ओलीले प्रचण्डको प्रस्तावलाई लाञ्छनापत्र भन्दै त्यो फिर्ता लिनुपर्ने दोहोर्‍याएका थिए।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily