काठमाडौं-सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० को स्थायी कमिटी बैठक आज आइतबार बस्दैछ। शनिबारको सचिवालय बैठकले आज अपरान्ह १ बजे पार्टी कार्यालय धुम्बाराहीमा स्थायी कमिटी बैठक बस्ने निश्चित गरेको हो।
बैठकले पार्टीको संकट र यसको निवारण सम्बन्धमा छलफल गरेर निष्कर्ष निकाल्ने प्रक्रिया अगाडि बढाउने प्रवक्ता नारायणकाजी श्रेष्ठले जनाएका छन्।
यसअघि गत मंसिर ३ गतेको सचिवालय बैठकले स्थायी कमिटी बैठकको मिति मंसिर १८ गतेलाई तोकेको थियो।
तर, सचिवालयमा अध्यक्षद्वयको प्रस्तावले निम्तिएको असहज परिस्थितिले गर्दा मंसिर २१ गतेलाई बैठक सारिएको थियो। मंसिर १७ गतेको सचिवालय बैठकले १८ गतेको बैठकलाई २१ गतेसम्म सारेको हो।
बैठकप्रति अध्यक्ष ओली सकारात्मक छैनन्। उनले यसअघि नै बैठकको आवश्यकता नभएको दाबी गर्दै आएका छन्।
शनिबारको सचिवालयले निश्चित गरेको आइतबारको स्थायी कमिटी बैठकप्रति पनि उनले रुची देखाएका छैनन्। बैठकमा उनी आउने वा नआउने बारे पनि निश्चित छैन।
प्रवक्ता श्रेष्ठका अनुसार, स्थायी कमिटी बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले पेश गरेका फरक–फरक प्रस्तावमाथि छलफल गरिने छ।
प्रचण्डले कात्तिक २८ गते र ओलीले मंसिर १३ को सचिवालय बैठकमा क्रमशः १९ र ३८ पृष्ठको प्रस्ताव पेश गरेका थिए। उनीहरुले आफ्नो प्रस्तावमा एकअर्काप्रति आलोचना र गुनासो गरेका छन्।
प्रतिक्रिया