+
Search

ताजा अपडेट +

पपुलर +

काँचो चना र दूध खुवाएर ल्याइएका मानिसहरूबाट स्थायी कमिटी र केन्द्रीय कमिटीमा मेरो मानमर्दन गर्न खोजिँदै छ : ओली

4KNationalDaily
२०७७ मंसिर २१, आईतवार ०७:५१ बजे

काठमाडौं- नेकपा सचिवालयमा तीन साता अडिएको तनाव अब स्थायी कमिटीतर्फ प्रवेश गरेको छ । अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीको असहमतिबीच सचिवालयले दुवै अध्यक्षका प्रस्तावलाई स्थायी कमिटीमा लगेको हो।

पार्टीको विवाद आइतबार बस्ने स्थायी कमिटी र बिहीबार सुरु हुने केन्द्रीय कमिटीबाट किनारा लगाउने नेकपाको तयारी छ। यो खबर आजको नयाँ पत्रिका दैनिकमा शुरोजंग पाण्डेले लेखेका छन्।

२८ कात्तिकको सचिवालय बैठकमा अध्यक्ष प्रचण्डद्वारा प्रतिवेदन प्रस्तुत भएपछि अर्का अध्यक्ष ओली अब बैठकबाट होइन, सहमतिबाट मात्र समस्या समाधान गर्नुपर्ने पक्षमा छन् । उनले शनिबारको बैठकमा पनि स्थायी कमिटी बैठक तत्काल नबोलाउन अडान राखेका थिए । तर, सचिवालयका बहुमत सदस्यले पार्टीका हरेक विवाद, असहमति, सहमति र निर्णय बैठकबाटै गर्ने भन्दै स्थायी कमिटी बैठक बोलाउने अडान लिएपछि आइतबार स्थायी कमिटी बैठक निश्चित भएको हो।

आइतबार दिउँसो पार्टी मुख्यालय धुम्बाराहीमा बोलाइएको स्थायी कमिटी बैठकमा ओली सहभागी हुने–नहुने अनिश्चित छ । यसबीचमा राष्ट्रपति विद्यादेवी भण्डारीले पनि नेकपा विवाद सहमतिमै मिलाउन चासो राखेकी थिइन् । तर, उनको चासो, चिन्ता र सक्रियताले यसपटक नतिजा निकालेको छैन।

प्रधानमन्त्रीनिवास बालुवाटारमा शनिबार बसेको केन्द्रीय सचिवालय बैठकले अध्यक्षद्वय ओली र प्रचण्डको बेग्लाबेग्लै प्रस्ताव स्थायी कमिटीमा लैजाने निर्णय गरेको छ । बैठकपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले स्थायी कमिटी बैठकले नै पार्टीभित्रको संकट निवारणका सम्बन्धमा छलफल गरेर निष्कर्ष निकाल्ने बताए।

‘पूर्वनिर्धारित स्थायी कमिटीको बैठक निश्चित गरिएको छ । पार्टीको संकट र यसको निवारण सम्बन्धमा छलफल गरेर निष्कर्ष निकालिनेछ,’ बैठकपछि प्रवक्ता श्रेष्ठले भने, ‘अहिलेसम्म प्र्रस्तुत भएका प्रस्ताव स्थायी कमिटीमा पेस भएर छलफल हुनेछन्।’

सचिवालयमा कुनै सहमति नजुुटेकाले नेकपा विवाद क्रमशः फराकिलो मैदानमा प्रवेश गरेको छ । दुई अध्यक्षको सहमतिको सट्टा सबै विषयको छिनोफानो केन्द्रीय कमिटीसम्म पु¥याएर प्रक्रियाबाट टुंगोमा पुग्नुपर्ने अडानमा रहेका प्रचण्ड–नेपाल समूहको रणनीति एक कदम अगाडि बढेको छ।

उता ओलीले भने बहुमतको बल प्रयोग गरेर स्थायी कमिटी र केन्द्रीय कमिटी सदस्यहरूका बीचमा विवाद लगेर आफूलाई मानमर्दन गर्न खोजेको भन्दै आपत्तिसमेत जनाएका थिए ।

‘बैठकको हतारो छ, गर्नु नै छ भने गर्नुस् । काँचो चना र दूध खुवाएर ल्याइएका मानिसहरूबाट मलाई मानमर्दन गर्ने? स्थायी कमिटी र केन्द्रीय कमिटीमा किन लगिन खोजिँदै छ, मैले बुझेको छैन? त्यहाँ के–के छलफल हुन्छ, कसरी कुरा राख्छन्, सबै कुरामा म जानकारै छु,’ ओलीको भनाइ उद्धृत गर्दै सचिवालयका एक सदस्यले भने, ‘सचिवालय सधैँ जथाभावी खेल्ने ठाउँ होइन । समाधान गर्न सकिन्न भने बरु भंग गरौँ, गाली–गलौजको के अर्थ हुन्छ? यो सचिवालयले काम गर्न सकेन, समस्या मात्रै खडा गरेको छ।’

तर, ओलीले पार्टीका बैठक र नेताहरूलाई अवमूल्यन गर्दै ‘सुपरम्यान’ गर्न खोजेको भन्दै वरिष्ठ नेता नेपाल, खनाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठसहितका नेताहरूले प्रतिवाद गरेका थिए । बैठकबाट डराएर भाग्न खोजेको उनीहरूको आरोप थियो ।

‘तपाईं कमिटीभन्दा ठूलो सुपरम्यान होइन, पार्टीका विवादमा छलफल गर्ने र आफ्नो मत दिने अधिकार स्थायी कमिटी र केन्द्रीय कमिटीका नेताहरूलाई पनि छ, त्यहीँबाट टुंगो लगाऊँ,’ नेपालले प्रतिवाद गरेका थिए।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily