काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका तीनै जना अध्यक्षहरूले मुलुकलाई जोगाउन राजसंस्था अपरिहार्य भएको बताएका छन्।
पार्टीको झण्डोत्तोलन तथा चुनाव चिन्ह अनावरण गर्न आयोजित समारोहलाई सम्बोधन गर्दै नेताहरुले हिन्दू राष्ट्र र संवैधानिक राजसंस्थालाई पुनस्थापना गर्न सबै नागरिक उठनुपर्ने बेला आएको बताएका हुन्।
राप्रपा अध्यक्ष पशुपति शमशेर राणाले पार्टीले राजसंस्था र हिन्दुराष्ट्र गरी दुईवटा विषयलाई मूल्य मान्यताको रुपमा स्थापित गरेको उल्लेख गरे।
‘हाम्रो पार्टीले बोल्दै आएको दुईवटा मूल्य मान्यताको पक्षमा हिन्दू धर्म र मूलुक सञ्चालन गर्दा राष्ट्रपतिको ओहोदामा, राष्ट्र प्रमुखको ओहोदामा पुरानै संस्था जसले मुलुकलाई अभिभावकत्व दिन सक्छ त्यसलाई ल्याई पक्षपाती व्यक्तिहरु राख्न हुन्न भन्ने मान्यता प्रति मुलुकभर आन्दोलन चलिरहेको छ,’ अध्यक्ष राणाले भने।
पार्टीका अर्का अध्यक्ष कमल थापाले राप्रपा हिन्दूराष्ट्र र संवैधानिक राजसंस्थाको सिद्धान्तको मूल संवाहक भएको बताए। अहिले नागरिक स्तरबाट स्वतस्फुर्त रुपमा यो सिद्धान्तलाई लिएर आन्दोलन भइरहेको प्रति खुशि लागेको बताए।
‘राष्ट्रिय प्रजातन्त्र पार्टी हिन्दूराष्ट्र र संवैधानिक राजसंस्थाको सिद्धान्तको मूल संवाहक हो। यो विचारलाई आज जुन ढंगबाट स्वतस्फुर्त रुपमा जनताले लिएर हिँडिराखेका छन्। त्यसले हामीलाई खुशी लाग्नु स्वभाविक हो र ती अभियानमा हाम्रो सद्भाव समर्थन रहने छ,’ अध्यक्ष थापाले भने।
‘अब सडकमा प्रदर्शन गरिरहेका साथीहरुलाई पनि भन्न चाहन्छु। ‘राजा आऊ, देश बचाऊ’ होइन अब ‘जनता आऊ, राजा ल्याऊ, देश बचाऊ’ भन्नुपर्ने बेला आयो। राजाले आएर होइन जनताले आएर राजा ल्याउनुपर्यो। अनि त्यसपछि जनता र राजा मिलेर देश बचाउनु पर्यो। यो हो अहिलेको समयको माग,’ अध्यक्ष थापाले भने।
प्रतिक्रिया