+
Search

ताजा अपडेट +

पपुलर +

ओलीले प्रचण्डलाई भने- माधवजी धोकेबाज हुनुहुन्छ, सहकार्य तोड्नुस्, प्रचण्डले के भने?

4KNationalDaily
२०७७ मंसिर २५, बिहीबार ०७:१९ बजे

काठमाडाैं- सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच संवादहीनता तोडिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा दाहाललाई बोलाएर ओलीले सहकार्यको प्रस्ताव राखेका छन् । आफूहरू दुईजना मिले सबै समस्या समाधान हुने र अरु नेतालाई महत्व नदिए पनि हुने आशय ओलीले व्यक्त गरेका हुन् ।

प्रधानमन्त्री ओलीले पार्टीभित्रको विवाद धेरै लम्ब्याउन नहुने र एकले अर्कालाई अविश्वास गर्ने तहबाट ओर्लेर सहमतिको आधार तय गरौं भन्दै दाहाललाई सहकार्यको प्रस्ताव राखेका थिए । ओलीले पार्टीभित्र अनेकन समस्या रहेको बताउँदै तत्कालीन एमालेको समग्र पार्टीको संरचना अवस्था र नेताहरूको व्यवहारबारे पनि दाहाललाई जानकारी गराएका थिए ।

आफूहरू दुईजना मिलेपछि सबै विषय टुंगो लाग्छन्, पार्टी र नेता कार्यकर्ताको हित पनि यसैमा हुन्छ भनेर ओलीले सहकार्यको प्रस्ताव राखेका थिए । दाहालले मुन्टोमात्रै हल्लाएको केही नबोलेको स्रोतले बतायो ।

ओलीले प्रचण्डसँग मिलेर जान आफू तयार रहेको बताएका थिए । तर, बरिष्ठ नेता माधवकुमार नेपालसहित नेताहरुसँग बनाइएको गठबन्धन तोड्नुपर्ने उनको शर्त छ । ‘तपाईं माधव नेपालको पछि लाग्दै हुनुहुन्छ । तपाईंले माधव नेपाललाई चिन्नु भएकै छैन । हामी मिलौं’, ओलीको प्रस्ताव थियो ।

तत्कालीन एमालेको राजनीतिक घटनाक्रमबारे लामो व्याख्या गर्दै ओलीले ‘माधव नेपाल कति धोकेबाज हुन् भन्ने चिन्नु भएकै छैन । पछि थाहा पाउनुहोला’ भनेका थिए । जवाफमा प्रचण्डले भने दुई अध्यक्षबीच नभई पार्टी कमिटीबाटै निर्णय लिनुपर्ने बताएका छन् ।

‘माधव कमरेडलाई म राम्ररी चिन्छु । तपाईं जेलमा भएको बेला पनि मैले उहाँसँग सहकार्य गरेको छु’ प्रचण्डको भनाइ थियो, ‘३५ वर्ष अघि पनि हामीले पञ्चायतविरुद्ध आन्दोलनको कार्यक्रम बनाएका छौं । सँगसँगै लडेका छौं ।’

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily