काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सचिवालय सदस्य तथा प्रवक्ता नारायणकाजी श्रेष्ठ विवादमा तानिएका छन् ।
कोरोना भाइरसको संक्रमणका कारण नेकपा केन्द्रीय सदस्य तथा पूर्वराजदूत कमानसिंह लामाको निधनसँगै श्रेष्ठ र लामाबीचको लेनदेनको विवाद बाहिरिएको हो ।
श्रेष्ठका स्वकीय सचिव सुसन कर्माचार्य र कमानसिंहकी कान्छी श्रीमती इन्द्रमायाबीचमा ८ करोड रूपैयाँबराबरको कारोबार भएको एक भिडियोबाट बुझिन्छ, जसमध्ये कमानसिंह लामाले बैंकबाट झिकेर २ करोड ५० लाख दिइसकेको र बाँकी २ करोडमा कुरा नमिलेको देखिन्छ।
‘सुसनले लिएको साढे २ करोड रूपैयाँ मेरो हो, मैले बैंकबाट निकालेर दिएको हुँ, त्यो पैसा तपाईँले चलाउने अनि ब्याज चाँहि मैले तिरिरहने?’ सिंहले श्रेष्ठसँग प्रश्न गरेका छन्। सेयर खरीदका बारेमा दुवै नेताबीच कुराकानी नमिलेको भिडियोमा देखिन्छ।
श्रेष्ठले सेयरको ७० प्रतिशत रकम सुसनलाई प्रयोग गर्न दिनु भन्दै नेता लामासँग आग्रह गरेका छन्, तर लामाले भने त्यो पैसा जसरी पनि दिनुपर्ने भन्दै अडान कसेका छन्। उनको तर्क छ, ‘पैसा पनि नपाउने, ब्याज पनि तिरिरहनुपर्ने मैले?’ यसो भन्दै उनी अन्यायमा परेको जनाइरहेका छन्।
श्रेष्ठले सुसन पनि आफनो मान्छे र इन्द्रमाया-कमानसिंहकी कान्छी श्रीमती आफ्नो मान्छे भन्दै परिवारको कुरा मिलाउनुपर्ने तर्क गरिरहेका छन्, तर लामाले मानिरहेको देखिन्न। उनको एक मात्र शर्त रहेको छ, पैसा जसरी पनि दिनुपर्यो, किनकि बैंकमा ब्याज बढेकोबढ्यै छ।
तर त्यो भिडियो कहिलेको थियो? मिति नखुलाइए पनि श्रेष्ठ र लामाबीच करोडौंको आर्थिक कारोबार भएको अडियो/भिडियोले पुष्टि गर्छ। सो रकम लिएपछि सुसनले लामाकी कान्छी श्रीमती इन्द्रमायालाई युरोप भ्रमणसमेत गराएको पारिवारिक निकट स्रोतले जानकारी दिएको छ।
लामाको आज निधन भयो तर उनले ३ दिन अघि लेखे, ‘प्रिय, मेरी प्रिय! हाम्रो प्रेम बर्मुडा ट्रयाङ्गलमा फस्यो!’ यसो भन्दै सम्पत्ति सकिएको र श्रीमतीले धोका दिएको संकेत उनले गरेका छन्। श्रेष्ठको नाम त लेखेका छैनन्, तर संकेत भने त्यतै गरेका छन्।
निधन हुनु ७ दिनअघि सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै श्रीमती इन्द्रमायासँग ६-७ महिना यतादेखि सम्बन्ध बिग्रेको र ‘जाली फटाहा’ले पैसा खाइदिएको उनले उल्लेख गरेका छन्।
प्रतिक्रिया