+
Search

ताजा अपडेट +

पपुलर +

कमान सिंह लामाकी श्रीमती र हाइड्रो कम्पनी भन्छन् : आर्थिक मामिलामा नेकपा प्रवक्ता श्रेष्ठको कुनै संलग्नता छैन

4KNationalDaily
२०७७ मंसिर २६, शुक्रबार ०६:५८ बजे

काठमाडौं- सत्तारुढ दल नेकपाभित्र पार्टीको आन्तरिक विवाद चुलिएका बेला पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठलाई एउटा नीजि आर्थिक मामिलामा मुछ्ने प्रयास भएको छ। भ्रष्टाचार विरोधी छवि बनाएका श्रेष्ठलाई पुराना कम्युनिष्ट नेता कमानसिंह लामाको नीजि आर्थिक लेनदेनमा जोड्ने प्रयास भएको हो।

कोरोना संक्रमित लामाको बिहीबार मृत्यु भएपछि यस विषय चर्चामा आएको छ। लामाले ७ दिनअघि सामाजिक सञ्जाल फेसबुकमा आफ्नो र श्रीमतीको सम्बन्धबारे लामो स्टाटस लेखेका थिए। त्यसमा उनले आफ्नो नीजि कारोबारसम्बन्धी विवादमा नाम नलिइकन एकजना नेताको प्रसंग उल्लेख गरेका छन्।

यसैबीच, एउटा अडियो भिडियो सामग्री पनि सामाजिक सञ्जालमा सार्वजनिक भएको छ। त्यसमा प्रवक्ता नारायणकाजी श्रेष्ठले लामासँग सो विषयमा कुरा गरेको र तपाईंहरु आपसमा मिलेर जानुस् भनी सुझाव दिएको देखिन्छ।

सोही विषयलाई लिएर प्रवक्ता श्रेष्ठबारे टीका टिप्पणी भएपछि लामासँग आर्थिक लेनदेनमा संलग्न रहेको याम्बालिङ्ग हाइड्रो र लामाकी कान्छी श्रीमतीले शुक्रबार विज्ञप्ति नै प्रकाशित गरेका हुन्। लामाकी श्रीमती इन्द्रमायाले त हाइड्रोमा आफ्नो बढी सेयर भएकैले आफ्नो र श्रीमानबीचको सम्बन्ध नै विग्रेको समेत उल्लेख गरेकी छिन्।

सार्वजनिक भएको अडियो/भिडियोमा पूर्वराजदूत कमानसिंह लामा र हाइड्रो व्यवसायीसमेत रहेकी श्रेष्ठकी स्वकीय सचिव सुसन कर्माचार्यवीच आर्थिक लेनदेनसम्बन्धी विवाद रहेको र सो विवाद मिलाउन नारायणकाजी श्रेष्ठले मध्यस्थता गर्न खोजेको सुनिन्छ।

कसरी जोडिए लामा हाइड्रोमा

लामाले ०६४/०६५ सालमा आफू अध्यक्ष रहेर श्रीमती समेतलाई सेयर सदस्य बनाई याम्बालिङ्ग हाइड्रो प्रालि कम्पनी स्थापना गरे। सो कम्पनीले सिन्धुपाल्चोकमा रहेको याल्बालिङ खोलाबाट ७ मेगावाटको बिजुली निकाल्न प्रोजेक्टको लाइसेन्स पाएको याम्बालिङ हाइड्रोले विद्युत विकास विभागबाट ०७३ पुस ६ गते विद्युत उत्पादन अनुमति पत्र पायो।

त्यसअघि ०७२ पुस २९ गते नै विद्युत प्राधिकरण र लामाको कम्पनीवीच विद्युत खरीद सम्झौतासमेत भइसकेको थियो। तर, कानूनले तोकेको समयमा लामाको कम्पनीले विद्युत उत्पादन प्रक्रिया अगाडि बढाउन सकेन र उनी ऋणमा डुबे।

त्यसपछि सरकारले उनको लाइसेन्स रद्द गर्ने प्रक्रिया थालेको कमानसिंह लामाकी श्रीमती इन्द्रमाया तामाङले विज्ञप्तीमा उल्लेख गरेकी छिन्।

‘सो हाइड्रो सञ्चालनका लागि १० वर्षदेखि हाम्रो चलअचल सम्पति, आफन्त इष्टमित्र, पार्टीका साथीहरुको समेत ऋण धन लिएर सञ्चालन गर्ने प्रयत्न ग¥यौं। तर, न हामीले हाइड्रो सञ्चालन गर्न सफल भयौं, न त साथीभाइको ऋण नै चुक्ता गर्न सक्यौं।’

उनले यो आर्थिक मामिलामा प्रवक्ता श्रेष्ठ पहिले र अहिले पनि संलग्न नरहेको स्पष्ट पारेकी छन्।

यसरी ऋणमा डुबेपछि पति कमानसिंह र आफूले सुसन कर्माचार्यसँग हारगुहार गरेको इन्द्रमाया बताउँछिन्। उनका अनुसार हामी दुबैजना (कमानसिंह लामा र इन्द्रमाया तामाङ) को सहमतिमा हाम्रो केही सेयर रहने गरी सबै कानूनी प्रक्रिया पुर्याएर २०७५ साल फागुन २४ गते शुक्रबार कमानसिंह लामाको ऋणमा डुबेको कम्पनी सुसन कर्माचार्य अध्यक्ष रहेको मनीप्लान्ट इन्भेष्टमेन्ट प्रालिले लियो।

सुसनले जिम्मा लिनुभन्दा अघिल्लो आर्थिक वर्षको लेखा परीक्षण गरेर कर लगायतका चुक्ता गर्नुपर्ने दायित्वहरु कमानसिंह लामाले चुक्ता गर्नुपर्ने भनिएको थियो। लामाले लिएका अन्य ऋणहरु पनि चुक्ता गरेर कम्पनी जिम्मा लगाउनुपर्ने करारनामामा भनिएको थियो। तर, लामाले ती दायित्वहरु पूरा गरेनन्।

ती दायित्व पूरा गर्ने उनीसँग रकम थिएन। त्यसपछि सुसनले याल्बालिङ हाइड्रोको बैंक ग्यारेन्टीमा लामाको जग्गा धितो राखेर २ करोड रुपैयाँ ऋण निकालिदिइन्। त्यसपछि लामाले आफ्नो व्यवहार सल्टाए।

यसो गर्दा फाइनान्सियल क्लोजर एवं कम्पनीको स्वामित्व हस्तान्तरणमा ढिलाइ भयो। पछि लामाले बैंकबाट निकालेको दुई करोडलाई ‘ऋणमा परिणत गरौं, त्यो म जे गर्ने हो गरौंला, मलाई २ करोड ५० लाख रुपैयाँ नगद चाहियो’ भनी सुसनसँग माग गर्न थाले।

बैंकले त्यसलाई ऋणमा परिणत गर्न मानेन। लामाले भने बैंकको चुक्ता गरिदिएको बाहेक नै थप रकम मागेपछि दुईपक्षवीच विवाद भयो। लामाले अदालतमा पनि मुद्दा हालेका थिए। एकदुईपटक प्रचण्डले पनि लामा र कर्माचार्यबीचको आर्थिक लेनदेनको विवाद मिलाउने प्रयास गरेका थिए।

यही आर्थिक विषयमा दुईपक्षबीच विवाद मिलाउन र सहमति कायम गरेर जान आफूले सुझाव मात्र दिएको नेकपाका प्रवक्ता श्रेष्ठले बताए। ‘भिडियो वा अडियो दुबैमा मैले आर्थिक विवाद दुबै पक्ष बसेर मिलाउनुहोस् भनेको छु, त्यहाँ विवाद मिलाउने प्रयासभन्दा बाहेक मैले गलत काम के गरेको छु र? त्यो त सुन्दा हेर्दा प्रष्ट देखिन्छ त’, श्रेष्ठले भने।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily