काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भ्रष्टाचारी संरक्षण गरेको आरोप लगाएका छन्।
कैलालीको धनगढीमा सोमबार आयोजित विरोध सभालाई सम्बोधन गरिरहेका नेता थापाले सरकारप्रति तीव्र आक्रोश व्यक्त गर्दै प्रधानमन्त्री ओलीलाई भ्रष्टाचारको संरक्षण गरेको आरोप लगाएका हुन्।
‘भ्रष्टाचारी हेर्न कहीँ जान पर्दैन, बालुवाटार गए पुग्छ,’ गगनले भने, ‘अन्त जानै पर्दैन सिंहदरबार गए पुग्छ किनभने प्रधानमन्त्रीको वरिपरीकै व्यक्तिहरु भ्रष्टाचारीको संरक्षणमा लागेका छन्।’
उनले कोरोनाको महासंकटमा सरकारले जनतालाई कोरोनाबाट पनि जोगाउन नसकेको र कृषकालाई मल पनि दिन नसकेको बताए।
‘नांगै हिड्नुभएका प्रधानमन्त्रीलाई जोगाउँदा प्रचण्ड र माधव नेपाल पनि अर्धनांगो भए,’ थापाले भने, ‘कमरेडहरु अब निकै ढिलो भयो, जनताले निकै अपेक्षा गरेका थिए, निराश भए।’ थापाले नेकपालाई कम्युनिष्ट पार्टी नै नभई लोभी पापीहरुको समूह भएको आरोप समेत लगाए।
संसदमा दुईतिहाइ बहुमत रहेको, ४ सय भन्दा बढी स्थानीय तहमा सरकार बनाएको र ७ मध्ये ६ वटा प्रदेश जितेको नेकपाको सरकार नालायक सावित भएको दाबी गरे।
‘यो सरकार बाहिर भ्रष्टाचार गर्दिन भन्छ तर, बाइडबडी जहाज खर्लप्पै खान्छ, सेक्युरिटी प्रेसमा भ्रष्टाचार गर्छ र बालुवाटार जग्गा समेत खर्लप्प खान्छ। त्यतिमात्र होइन अहिलेसम्म नभएको बजेटभाषण अघि व्यापारीलाई बोलाएर राजस्वको दर तलमाथि गर्छु भनेर पोस्ने काम गर्छ,’ उनको आरोप थियो।
उनले भने आफ्नै पार्टीलाई लक्षित गर्दै फेरि सत्ताका लागि सिंहदरबार ताक्ने भन्दा जनताका बीचमा जान आग्रह पनि गरे। ‘अब शीतलनिवास, बालुवाटार वा सिंहदरबार हेर्ने होइन, जनताको घर हेर्ने हो, व्याक टू पिपुल (जनताका बीचमा) जाने हो अब,’ उनले भने।
प्रतिक्रिया