काठमाडौं– साविक विजेता रियल मड्रिडले स्पेनिस ला लिगा फुटबलमा जित निकालेको छ। बुधबार राति भएको खेलमा रियलले ग्रानाडालाई २–० गोलअन्तरले पराजित गरेको हो।
घरेलु मैदानमा भएको खेलमा रियलको जितमा करिम बेन्जिमा र कासिमिरोले गोल गरे। खेलको पहिलो हाफसम्म गोलरहित बराबरी खेलेको रियलले दोस्रो हाफमा दुई गोल गर्दै जित सुनिश्चित गरेको हो।
खेलको ५७ औं मिनेटमा कासिमिरोले गोल गर्दै रियललाई १–० को अग्रता दिलाए। खेलको अतिरिक्त समयमा बेन्जिमाले गोल गर्दै रियललाई २–० गोलको जित दिलाए।
बुधबार राति नै भएका अन्य खेलमा गेटाफेले सेल्टा भिगोसँग १–१ गोलको बराबरी खेल्दा अलभेसले इबरलाई २–१ र रियल बेटिसले काडिजलाई १–० गोलले पराजित गरेका छन्।
जितसँगै रियलले शीर्ष स्थानमा रहेको एथ्लेटिको मड्रिडसँग अंक बराबरी बनाएको छ। तर रियलले एथ्लेटिकोभन्दा दुई खेल बढी खेलेको छ। शीर्ष स्थानको एथ्लेटिको मड्रिडको १३ खेलबाट ३२ अंक हुँदा दोस्रो स्थानमा रहेको रियलको १५ खेलबाट ३२ अंक नै छ।
लिगको तेस्रो स्थानमा रहेको रियल सोसिडाडको १६ खेलबाट २६ अंक हुँदा चौथो स्थानमा रहेको भिल्लारियलको २६ अंक र पाँचौं स्थानमा रहेको बार्सिलोनाको २४ अंक छ।
प्रतिक्रिया