+
Search

ताजा अपडेट +

पपुलर +

मन्त्रिपरिषद् बैठक बस्दै, ‘प्रदेशसभा विघटन’को सिफारिस हुनसक्ने

4KNationalDaily
२०७७ पुष १०, शुक्रबार १५:३३ बजे

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आज शुक्रबार साँझ मन्त्रिपरिषद् बैठक बोलाएका छन् । प्रधानमन्त्री ओलीले साँझ ६ बजेका लागि बैठक बोलाएका हुन् ।

विकसित राजनीतिक घटनाक्रमसँगै प्रधानमन्त्री ओलीले आजै मन्त्रिमण्डल विस्तारसमेत गर्ने तयारी गरेका बालुवाटार स्रोतले जनाएको छ । नेकपाको प्रचण्ड नेपाल पक्षका ७ मन्त्रीले राजीनामा दिएपछि खाली भएको पदमा ओलीले नयाँ नियुक्त गर्ने तयारी गरेका छन् ।

यस्तै, बागमती प्रदेशमा मुख्यमन्त्री डारमणी पौडेलविरुद्ध अविश्वासको प्रस्ताव परेसँगै ओलीले आजको बैठकबाट प्रदेशसभा विघटनको सिफारिस गर्नसक्ने बताइएको छ । यसअघि ओलीले प्रदेशको सम्बन्धमा अर्को पक्षले हात छाडे कडा कदम चाल्ने बताइसकेका छन् ।

प्रदेशमा संघीय शासन : के छ संवैधानिक प्रावधान ?

नेपालको संविधानले प्रदेशमा संघीय शासन लागू हुनसक्ने व्यवस्था गरेको छ । संविधानको धारा २३२ मा प्रदेशसभा विघटनसम्बन्धी प्रावधान रहेको छ । सो धाराको उपधारा ३ मा ‘कुनै प्रदेशमा नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रियता वा स्वाधीनतामा गम्भीर असर पर्ने किसिमको कार्य भएमा राष्ट्रपतिले त्यस्तो प्रदेश मन्त्रिपरिषद्लाई आवश्यकताअनुसार सचेत गराउन, प्रदेश मन्त्रिपरिषद् र प्रदेशसभालाई बढीमा ६ महिनासम्म निलम्बन गर्न वा विघटन गर्न सक्ने’ व्यवस्था छ ।

सोही धाराको उपदफा ४ मा प्रदेश मन्त्रिपरिषद् र प्रदेश सभालाई निलम्बन वा विघटन गरिएको कार्य ३५ दिनभित्र संघीय संसदको तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको बहुमतबाट अनुमोदन गराउनुपर्ने उल्लेख छ ।

सो कार्य अनुमोदन भएकामा सम्बन्धित प्रदेशमा ६ महिनाभित्र प्रदेशसभाको निर्वाचन हुने पनि उल्लेख छ । हाल प्रतिनिधिसभा विघटित भएका कारण संघीय सरकारले प्रदेश मन्त्रिपरिषद् र प्रदेशसभा भंग गरेमा अनुमोदन गराउन ‘वैधानिक चुनौती’ देखिन सक्छ । यद्यपि राष्ट्रियसभा जीवितै छ ।

पार्टीभित्रको आन्तरिक किचलोका कारण प्रतिनिधिसभा विघटनको निर्णयमा पुगेका प्रधानमन्त्री ओलीले संविधानका उल्लिखित धारा प्रयोग गरेर संकटकाल घोषणा गरी प्रदेशमा संघीय शासन लगाउन सक्ने अनुमान कतिपयले गरेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily