+
Search

ताजा अपडेट +

पपुलर +

प्रचण्ड–नेपाल पक्षले तोक्यो गण्डकी र लुम्बिनीका नयाँ इन्चार्ज, गुरुङ र पोखरेल हटाइए

4KNationalDaily
२०७७ पुष २०, सोमबार १८:३१ बजे

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को पुष्पकमल दाहाल प्रचण्ड-माधव नेपाल पक्षले लुम्बिनी र गण्डकी प्रदेशको इन्चार्ज हटाउने निर्णय गरेको छ।

सोमबार बसेको प्रचण्ड -नेपाल पक्षको स्थायी समिति बैठकले लुम्बिनी प्रदेशका इन्चार्ज शंकर पोखरेल र गण्डकी प्रदेशका इन्चार्ज पृथ्वीसुब्बा गुरुङलाई हटाउने निर्णय गरेको हो । पोखरेल र गुरुङ सम्बन्धित प्रदेशको मुख्यमन्त्री समेत हुन् ।

पोखरेल र गुरुङको ठाउँमा स्थायी समिति सदस्य युवराज ज्ञवाली र देवेन्द्र पौडेललाई जिम्मेवारी दिइएको स्थायी समिति सदस्य देव गुरुङले जानकारी दिए ।

त्यस्तै गण्डकी प्रदेशको सहइन्चार्जबाट खगराज अधिकारीलाई हटाएर तुलबहादुर गुरुङलाई जिम्मेवारी दिइएको छ । गुरुङका अनुसार प्रदेश कमिटी सदस्य गोविन्द नेपालीलाई हटाएर श्रीमाया थकालीलाई जिम्मेवारी दिइएको छ।

संसद विघटनपछि नेकपा विभाजित हुँदा एक पक्षले अर्को पक्षलाई जिम्मेवारीबाट हटाउँदै आएको छ । प्रदेश १, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने यो समूहकै नेता इन्चार्ज छन् ।

ओली समूहले पनि प्रचण्ड– माधव समूहमा रहेका इन्चार्जहरुलाई हटाएर नयाँ जिम्मेवारी दिइसकेको छ । सोमबारको स्थायी कमिटी बैठकको अध्यक्षता नेपालले गरेका थिए । यो बैठकले नेताहरुको जिम्मेवारी टुंग्याउन नेपालको संयोजकत्वमा कार्यदल पनि बनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily