फाइल तस्बिर
काठमाडौं- प्रचण्ड–नेपाल नेतृत्वको नेकपाका अध्यक्ष माधवकुमार नेपालले लोकतन्त्र र संविधानमा प्रहार गरेपछि प्रधानमन्त्री केपी ओली एक्लिँदै गएको बताएका छन्।
बुधबार नेकपा काठमाडौँले नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले असंवैधानिक कदमले ओलीलाई एक्लो र निरिह बनाएको बताएका हुन्। उनले देश, जनता, नागरिक समाज सबैतिरबाट आफूहरुलाई समर्थन रहेको बताए।
‘उहाँ (ओली) सबैतिरबाट एक्लिनुभएको छ। प्रायः तानाशाहहरु यसरी नै एक्लिँदा रहेछन्’, अध्यक्ष नेपालले भने।
ओलीले माक्र्सवादी आन्दोललाई सिध्याउन खोजेको र लोकतन्त्रको मर्ममाथि प्रहार गरेको बताए। उनले ओली झुटको पुलिन्दा भएको र झुट बोल्न माहिर भएको बताए। उनले ओलीको झुटको एक एक जवाफ दिनुपर्ने बताए।
उनले ओलीले आफूलाई खेलाडी भएको बताउँदै खेलाएर मान्छेलाई तह लगाउन खोज्ने प्रवृत्ति रहेको बताए।
‘उहाँ खेलाडी पनि हुनुहुन्छ, चतुर त नभनौँ, उहाँ खेलाएर मान्छेलाई तह लगाउन सक्छु भन्ने ठान्नुहुन्छ’, उनले भने, ‘अहिले हेर्नुहोस् त डम्मरु बजाउँदै टिकट बाँड्दै, केन्द्रीय सदस्य बन्न आउन भनेर टिकट बाँडिरहनुभएको छ।’
प्रतिक्रिया