+
Search

ताजा अपडेट +

पपुलर +

कोरोना परीक्षण गर्ने ‘क्रिस्पर टेक्नोलोजी’ नेपालमा पनि प्रमाणीकरण, पिसिआर भन्दा सस्तो हुने

4KNationalDaily
२०७७ माघ २, शुक्रबार १८:१९ बजे

काठमाडौं- अमेरिकाले विकास गरेको कोरोना भाइरस संक्रमण पत्ता लगाउने नयाँ प्रविधि क्रिस्पर टेक्नोलोजी नेपालमा पनि प्रमाणिकरण गरिएको छ।

अमेरिकाको म्यासाच्युट इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआइटी) विश्व विद्यालयका वरिष्ठ अनुसन्धान वैज्ञानिकको रुपमा कार्यरत नेपाली वैज्ञानिक दिग्विजय राज महतको टोलीद्धारा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा नयाँ प्रविधिको कोरोना परीक्षण विधि नेपालमा प्रमाणिकरण गरिएको हो।

वैज्ञानिक महतका अनुसार स्वास्थ्य मन्त्रालय र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालासँगको समन्वयमा नयाँ प्रविधिबाट कोरोना परीक्षण गरिएको हो।

सन् २०२० मा नोवेल पुरस्कार प्राप्त गर्न सफल अमेरिकाको क्रिस्पर टेक्नोलोजी प्रविधिलाई प्रयोग गरेर एमआइटीका वैज्ञानिकहरुले बनाएको कोरोना परीक्षण गर्ने प्रविधि नेपालमा भित्र्याइएको वैज्ञानिक महतको भनाइ छ।

उनका अनुसार उक्त प्रविधिको प्रमाणिकरणका लागि ३६० जना व्यक्तिको स्वाब संकलन गरेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिएको थियो। क्रिस्पर प्रविधि प्रमाणिकरणका लागि संकलन गरिएको स्वाबलाई पिसिआर विधिबाट पनि परीक्षण गरिएको थियो।

दुवै विधिबाट गरीएको परीक्षणको नतिजा ९८.३३ प्रतिशत समानता देखिएको वैज्ञानिक महतको भनाइ छ। नयाँ प्रविधिबाट गरिएको परीक्षणले आरटी-पिसिआर विधिबाट गरिने परीक्षण विधिजस्तै राम्रो नतिजा देखिएको वैज्ञानिक महतको दाबी छ।

उनले नयाँ विधिबाट गरिएको परीक्षणले पिसिआर विधिबाट कोरोना परीक्षण गरेजस्तै प्रभावकारी नतिजा दिएको र पिसिआर परीक्षण विधिभन्दा छिटो र सस्तो भएको पनि जानकारी दिए।

वैज्ञानिक महतका अनुसार उक्त कोरोना परीक्षण प्रविधिलाई अमेरिकाले आपतकालिन प्रयोगका लागि अनुमति समेत दिइसकेको छ।

पिसिआर परीक्षण विधिभन्दा छिटो नतिजा दिने, सस्तो र प्रभावकारी भएकाले नेपालमा पनि यो विधिबाट कोरोना परीक्षण गर्न उक्त प्रविधि भित्र्याइएको वैज्ञानिक महतको भनाइ छ।

‘अहिले नेपालमा भइरहेको पिसिआर विधिभन्दा क्रिस्पर प्रविधिले चाँडो नतिजा दिन्छ,’ उनले भने, ‘पिसिआर भन्दा सस्तो छ, यसले मास टेष्टिङ गर्न र दुर्गममा परीक्षण गर्न उपयुक्त छ।’

वैज्ञानिक महतका अनुसार क्रिस्पर प्रविधिबाट स्वाब संकलन गरेर कोरोना परीक्षण गरी नतिजा आउन ७० मिनेट मात्रे लाग्ने पनि जानकारी दिए। उनले यो विधिबाट कोरोना परीक्षण गर्दा भिटिएम आवश्यक नपर्ने र आरएनए एक्ट्राक्सन पनि गर्न नपर्ने बताए।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily