गोरखा- जनता समाजवादी पाटीका संघीय परिषद् अध्यक्ष डा. बावुराम भट्टराईले प्रतिनिधि पुनःस्थापना भए नेपाली काँग्रेसको नेतृत्वमा सरकार बन्ने बताएका छन् ।
गोरखामा शुक्रबार पत्रकारसँगको कुराकानीमा भट्टराईले प्रतिनिधिसभा पुनःस्थापना भए शेरबहादुर देउवा प्रधानमन्त्री हुने दाबी गरे ।
पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले ओलीजस्तो भष्मासुरलाई हुर्काउन भूमिका खेलेकाले प्रधानमन्त्रीका लागि लायक नहुने उनको भनाइ छ ।
पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले भने, ‘प्रचण्ड–माधवहरुको ओलीजस्तो भष्मासुरलाई हुर्काउन भूमिका छ, ओलीलाई हटाएर आफू प्रधानमन्त्री बन्छु भन्नुले स्वार्थ वा पदलोलुपता देखाउँछ । बाँकी काँग्रेस रहन्छ । त्यहाँ दाबेदार रामचन्द्रजी संसद् सदस्य हुनुहुन्न, स्वतः शेरबहादुरजी देख्छु ।’
नेकपा विभाजनपछि जसपा तेस्रोबाट चौथो पार्टी हुने भएकाले सरकारको नेतृत्वमा दाबी नगर्ने उनले बताए । यस्तै उनले संसद पुनःस्थापना भए राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री ओलीलाई दण्डित गर्नुपर्नेमा जोड दिए ।
‘अमेरिकाका राष्ट्रपतिलाई एक साता बाँकी हुँदा महाअभियोग लगाएर हटाइँदै छ, यत्रो अपराध गरेका ओलीलाई पनि दण्डित गर्नै पर्छ, राष्ट्रपतिलाई पनि दण्डित गर्नुपर्छ,’ उनले भने ।
प्रतिनिधिसभा ब्यूताउन जनताले निरन्तर आवाज उठाउनुपर्ने भन्दै राजनीतिक दलको संयुक्त आन्दोलन आवश्यक रहेकाे उनले बताए ।
प्रतिक्रिया